सिसडोलबासि र काठमाडौं महानगरबीचको वार्ता सफल , आजदेखि फोहोर  उठ्ने

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०७७, १२ : २८
सिसडोलबासि र काठमाडौं महानगरबीचको वार्ता सफल , आजदेखि फोहोर  उठ्ने

काठमाडौं । एक हप्तादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच शुक्रबार विहान मागहरुको सुनवाई गर्ने र फोहोर उठाउन दिने सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए  ।

सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । आजै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको श्रेष्ठले बताए ।

सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन(तीन करोड पाउने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छ ।

प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न संघ सरकारसँग अनुरोध गर्ने र सिसडोलको पोस्ट क्लोजर गर्नेबारे पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस