प्रदेश ३

प्रदेश नम्बर ३ को प्रदेशसभामा स्थायी राजधानी तोक्नुपर्ने माग देखि गाई काण्डसम्मको चर्चा

मंगलबार, १३ चैत्र २०७४, १८ : ३९
प्रदेश नम्बर ३ को प्रदेशसभामा स्थायी राजधानी तोक्नुपर्ने माग देखि गाई काण्डसम्मको चर्चा

चन्द्र घलान

मकवानपुर ।  प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा मंगलबार प्रदेशको स्थायी राजधानी, नामाकरण, गाई काण्ड, बलात्कारीलाई मृत्यू दण्ड तोक्ने बारेका साथै ईयु प्रतिवेदनदेखि यूएस बङ्ग्ला बिमान दुर्घटनासम्मको विषयले प्राथमिकता पाएका छन् । बैठकमा बोल्दै अधिकांश सांसदले प्रदेशको राजधानी र नामाकरणमा जोड दिएका छन् ।
‘प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरण गर्न जोड’
बैठकमा स्थायी राजधानी तोक्न र नामाकरण ढिला भएको भन्दै आज प्रदेश नम्बर ३ का सांसदहरुले चासो देखाएका छन् । आज अस्थायी राजधानी हेटौँडामा भएको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले राजधानी तोक्न र नामाकरण गर्न अब ढिला गर्न नहुने बताएका हुन् । त्यस्तै केही सांसदले घुम्ती राजधानीको अवधारणा समेत प्रस्तुत गरेका छन् ।
बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले प्रदेशको स्थायी राजधानी यथासक्दो चाँडो टुङ्ग्याउनुपर्ने  बताए । स्थायी राजधानी नहुँदा स्थायी प्रकृतिका निर्माणको कामहरु गर्न असहज वातावरण सुरु भएको समेत उनले दाबी गरे । एमालेकै सांसद रामेश्वर फुँयालले पनि यसमा समर्थन जनाए । राजधानीको समस्या नसकेसम्म अरु समस्या थपिरहने उनले बताए ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद बलराम पौडेलले पनि राजधानीको विषयलाई पहिलो प्राथमिकता दिनुपर्ने ठोकुवा गरे । साथै नयाँ शक्तिका प्रेम तामाङले पनि प्रदेश राजधानी तुरुन्तै तोक्नुपर्ने बताए ।
त्यस्तै नेपाली काँग्रेसकी सांसद जिवना डंगोलले प्रदेशको राजधानीलाई १०–१० वर्षमा परिवर्तन गर्नेगरि ‘घुम्ती राजधानी’ बनाउन सक्ने प्रस्ताव गरिन् । त्यस्तै विद्यायक राजधानी, न्यायिक राजधानी तथा कार्यपालिका रहेको राजधानी भनेर समेत बनाउन सकिने बताईन् ।
त्यसतै सांसदहरुले इयुको प्रतिवेदनले देशको गरिमामाथि प्रहार गरेको भन्दै प्रदेश सरकारले इयुको विषयमा आफ्नो धारणा बनाउनुपर्ने समेत बताए ।


‘बालिका बलात्कार गर्नेलाई मृत्यू दण्डको माग’
बैठकमा बोल्दै सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको माग समेत गरिन् । बालिका बलात्कार अति अमर्यादित क्रियाकलाप गर्नेलाई मृत्यू दण्डको विकल्प हुन नसक्ने बताइन् । नेपालमा सास्कृतिक विचलन समेत बढेको उनले दाबी गरिन् ।


‘विज्ञप्ति आईसक्दा पनि गाईकाण्डप्रति चासो’
गाई काण्डको बारेमा प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफुलाई त्यस काण्डमा गलत तरिकाले प्रयोग गरिएको भन्दै विज्ञप्ति जारी गरिसकेको अवस्थामा पनि प्रदेशसभामा पूनः त्यही विषयले प्राथमिकता पाएको छ ।
बैठकमा सांसद रिता माझीले गाईको विषयमा आफुहरुको ध्यानाकर्षण भएको बताउँदै त्यस बिषयमा उपसभामुख राधिका तामाङको कुरा साँचो हो या होइन भन्ने कुरा प्रष्ट पार्नुपर्ने उनले बताइन् ।  त्यस्तै काँग्रेस सांसद वलराम पौडेलले पनि गाईको विषयमा उठेकोे मुद्दा प्रष्टाउन आग्रह गरे । सांसदहरुले यी कुरा उठाएको भए पनि प्रेस विज्ञप्ति मार्फत आफुले त्यस्तो कुनै अभिव्यक्ति नदिएको उपसभामुख तामाङले जानकारी दिइसकेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस