आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी : राष्ट्रपति पुटिन

मंगलबार, १३ चैत्र २०७४, १४ : ०२
आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी : राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको जानकारी दिनुभएको छ । रुसको केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षण गरी सो प्रतिक्रिया दिनुभएको हो ।

उहाँ मङ्गलबार बिहान सो घटनास्थलको निरीक्षणका लागि जानुभएको थियो । त्यस अवसरमा उहाँले भन्नुभयो– यसमा हेलचक्र्याइँ त छ नै, त्यो पनि आपराधिक प्रकृतिको छ त्यसका कारणले यो दुर्घटना भएको हो । यस्ता प्रकृतिका दुर्घटनाहरु अब हुन नदिन सतर्क रुपमा कामगर्न पनि उहाँले सबैलाई निर्देशन दिनुभएको थियो ।

उहाँले यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ । यस घटनामा घाइते भएका व्यक्ति र ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समेत आवश्यक सहयोग गर्न उहाँले आदेश दिनुभएको समाचारमा जनाइएको छ ।

आगलागीमा मृत्युहुने ६४ जना
यसैबीच रसियाको दक्षिणीपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा भएको सो आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । उक्त ‘सपिङ्ग मल’ मा चार तलाबाट आगो सुरुभएको रसियाली अनुसन्धान समितिले सोमबार नै जानकारी दिएको थियो ।

स्थानीय समयानुसार आइतबार अपराह्नबाट नै सुरु भएको सो आगलागी सोमबार बिहानीपख मात्र नियन्त्रणमा आएको र रातभर आगलागी भएको अधिकारीहरुले जानकारी दिएका छन् । यस आगलागीमा परेर मारिएकामा १३ जना बालबालिकासहित २५ व्यक्तिको मात्र परिचय खुलेको रुसका स्वास्थ्यमन्त्री भेरोनिका स्कभोर्तसोभाले बताउनुभएको छ ।

परिचय खुलेका ती बालबालिका भने ४ देखि १३ बर्षसम्मका रहेका थिए । सो मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका सो आगलागी परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जनाएका थिए । रसियाली संकटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभले यस आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको तर सबैको परिचय भने नखुलेको बताउनु भएको छ ।

यद्यपी यस आगलागीमा परी बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पनि पुष्टि भएको छ्रैन । यसअघि प्राप्त जानकारीअनुसार आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता भएका र जसमध्ये ४१ जना बालबालिका रहेका थिए । अनुसन्धानको लागि यस कम्पनीका प्रमुख, घर मालिकलगायत पाँच व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस