प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक मंगलबार बस्दैछ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ प्रस्तुत गर्ने तयारी छ ।
चैत २० गतेभित्र बजेट ल्याउने तयारीमा रहेको सरकारले यसअघि सरोकारवाला र विज्ञसँग बसेर छलफलसमेत चलाइसकेको छ । आर्थिक विधेयक प्रदेशसभा बैठकबाट पारित भएपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बजेट प्रस्तुत गर्ने तयारीमा मन्त्रालय छ । चालु आर्थिक वर्षको अन्तिम ३ महिनाका लागि बजेट बन्ने भएकाले केन्द्र सरकारको समानीकरण अनुदानकै आधारमा बजेटको आकार तय हुने छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले ‘प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गरेको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले विषयगत समितिमा रहने सदस्यको नाम पढेर सुनाउने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस