नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने

रासस

आइतबार, ११ चैत्र २०७४, १८ : ४२
नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने

चितवन l भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताउनु भएको छ । सडकको आज अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, “हिजो के भयो त्यतातिर जान चाहदिन, ढुक्क हुनुहोस् अब समयमै सम्पन्न हुन्छ ।” समयमा सम्पन्न नभए कारबाही गर्ने भन्दै उहाँले भन्नुभयो, “जेठ १६ गतेभित्र सडकको काम सम्पन्न भएन भने सरकारले नियमानुसार कारबाही गर्छ ।” निर्माण कम्पनीले प्रतिबद्धता जनाएको र आफूले सोहीअनुसार निर्देशन दिइसकेको भन्दै उहाँले वर्षाद्मा बाटो नरोकिने बताउनुभयो । 

सरकार सडकका बारेमा गम्भीर बनेको भन्दै उहाँले अब निर्माण कम्पनीको चलखेल नचल्ने बताउनुभयो । यो सडक केन्द्रीय सरकारको मातहतमा रहेको भन्दै उहाँले सडक सुरक्षाका विषयमा सरकार सचेत रहेको छ भन्नुभयो । 

सडक निर्माणका क्रममा सुरक्षालाई ध्यानमा राखेर काम गरिएको भन्दै उहाँले यस सडकका पर्ने पुल निर्माणको कामलाई तीव्रता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पहिलो हस्ताक्षर नै यही सडकको १४ वटा पुल बनाउन गरेको छु ।” सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का भई निर्माण भइरहेका छन् भने १४ वटा ठेक्का हुन बाँकी छ । उहाँले सन् २०१९ को अगस्तसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

उहाँले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुरी सक्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख १५ पछि सडक विभागले हेर्ने सडकमा खाल्डाखुल्डी देख्न पाउनु हुने छैन । कहीँ देखियो भने सोझै मलाई फोन गर्न सक्नुहुन्छ ।” उहाँले काठमाडौँ उपत्यकाभित्र भने १५ दिनभित्र खाल्डाखुल्डी नपुरे कारबाही गर्ने बताउनुभयो । 

सन् २०१५ को अप्रिलबाट दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको नारायणगढ–मुग्लिन सडक पटकपटक गरी चार पटक मिति थपिएको छ । पछिल्लो थपिएको मिति अनुसार २०१८ को मे ३० भित्र सम्पन्न गर्नुपर्ने हुन्छ । हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस