यसरी बरामद भयो बहुमुल्य ‘युरेनियम’...

डेढ अर्बमा किनबेच गर्ने प्रयास

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, ०८ : १७
यसरी बरामद भयो बहुमुल्य ‘युरेनियम’...

काठमाडौँ । दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।

प्रहरीले पनि विगतमा युरेनियम कसैबाट बरामद गरेको थिएन । युरेनियम खानी भएको सम्भाव्यता अध्ययनपछि बल्ल केहीअघि मात्रै मुस्ताङको लोमन्थाङमा सेनाले खानी सुरक्षार्थ फौज तैनाथ गरेको थियो । त्यसबाहेक युरेनियमबारे खासै छलफल र बहस पनि भएको छैन । तैपनि काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रहरी वृत्त बौद्धको टोली सूचनामा भनिएअनुसार युरेनियम बेच्नेको खोजीमा जुट्यो ।

हुलिया बदलेर सादा पोसाकका प्रहरी ‘युरेनियम’ किन्न ग्राहक बनेर पुगे । सूचनामा उल्लेख गरिएअनुसार खोजी गर्दै जाँदा प्रहरी युरेनियम राख्ने र बिक्रीको योजना बनाउने दुई जना र ग्राहक खोज्ने दुई गरी चार जनाको पहुँचमा पुग्यो । त्यही क्रममा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ र सोही ठाउँ घर भई हाल बौद्धमा बस्दै आएकी ४० वर्षकी जानुका तामाङ, रामेछापकै २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेसँग हुलिया बदलेका प्रहरीले करिब डेढ सातासम्म युरेनियम किन्न डिल गरे ।

१ अर्ब ५० करोडदेखि २ अर्बसम्ममा युरेनियम किन्ने गरी डिल भयो । ग्राहकमार्फत नै नारायणसिंह हुँदै जानुकाको बौद्धस्थित घरसम्म ग्राहक बनेका प्रहरीको पहुँच पुगेको थियो । युरेनियम भनिएको सामान जानुकाकै घरमा राखिएको रहेछ । युरेनियम होरहोइन भनेर ग्राहकभेषी प्रहरीले ‘स्याम्पल’ ‘नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा परीक्षण गरायो । परीक्षणमा उक्त वस्तुमा प्रशोधन नगरिएको ‘युरेनियम–२३८’ का कण भेटियो । यद्यपि नास्टको परीक्षणबाट प्रमाणित यसबारेको तथ्य भने आउन बाँकी नै छ ।

वैज्ञानिकहरूका अनुसार यो भनेको प्रशोधनअघिको प्राकृतिक युरेनियम कच्चापदार्थ हो । प्रशोधन गरिएको युरेनियमलाई ‘युरेनियम–२३५’ उल्लेख गरिन्छ । प्रशोधित युरेनियम अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १५ देखि २० अर्ब रुपैयाँसम्म पर्न सक्ने बताइएको छ । प्रहरी जानुकाको कोठामा युरेनियम किन्न पुगेपछि सबै एकसाथ पक्राउ परेका थिए । त्यसपछि मात्रै उनीहरूले थाहा पाए– ग्राहक बनेर पुगेको टोली त प्रहरी रहेछ । स्टिलको क्यान र प्लास्टिकको बट्टामा राखिएको अवस्थामा प्रहरीले करिब २ केजी ९ सय ग्राम सामान बरामद गर्‍यो । उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जानुका, नारायणसिंह र अन्य दुई जनालाई बरामद सामानसहित उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरे । ‘बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनियम भएको परीक्षणबाट पुष्टि भएको छ । पक्राउ परेकालाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले बरामद वस्तु अन्दाजी साढे २ केजी भने पनि २ केजी ९ सय ग्राम भेटिएको छ । बरामद सबै सामान नास्टमा पठाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस