द्वन्द्व रोक्ने काममा पहल गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

एजेन्सी

शुक्रबार, २८ फागुन २०७७, २० : ४०
द्वन्द्व रोक्ने काममा पहल गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा द्वन्द्व रोक्ने कामका लागि अधिकतम प्रयास गर्न विश्वका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।

 उहाँले राष्ट्रसंघीय अधिकार तथा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई यो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ ‘‘विश्वमा द्वन्द्व कम गर्ने मात्र होइन यसलाई रोक्ने या स्थगित गर्नेतर्फ कार्यक्रमहरु केन्द्रित गर्नुपर्दछ, त्यसका लागि विश्वका सबै सदस्य राष्ट्रहरुको सक्रिय रुपमा सहयोग आवश्यक छ । ’’

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई भिडियो कन्फ्ररेन्सिङको सहायताले सम्बोधन गर्दै यसका लागि परराष्ट्र लगायतका आफ्ना नीतिहरु पनि आवश्यक रुपमा अवलम्बन गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभयो । 

सो सम्बोधनका क्रममा उहाँले भन्नुभएको थियो ‘‘म सबै सदस्य राष्ट्रहरुसँग यो आग्रह गर्न चाहन्छु कि विश्वमा द्वन्द्व रोक्ने अर्थात यसको प्रभाव कम गर्ने खालका उपाय र नीतिहरुको खोजी गर्ने होइन कि द्वन्द्वको अवस्था आउनै नदिने र आए पनि त्यसलाई निर्मूल पार्नेगरी नीति नियमहरु बनाउनु आवश्यक छ ।’’

विश्वमा अहिले नागरिकहरुले विभिन्न प्रकारका द्वन्द्वहरु र त्यसबाट सिर्जित हिंसा खेपिरहेका छन् भन्दै महासचिव गुटेरेसले यस्ता कैयौँ प्रकारका द्वन्द्व तथा हिंसाहरुलार्इ झन् बढाउने काममा कोभिड १९को महामारीले इन्धनको काम गरेको बताउनुभयो । 

त्यसैले पनि यस्ता द्वन्द्वहरुको कारण खोजेर तिनलाई निर्मूल गर्नेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । महासचिव गुटेरेसले यस कार्यका लागि सहजीकरण गर्न राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई निर्देशन पनि दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस