हुम्ला । ‘समृद्ध नेपाल सुखी नेपाली’ विद्यमान सरकारको नारा हो । ऐतिहासिक दुई तिहाइको सिंहदरबारको नारा हो । गाउँ–गाउँ सिंहदरबार पुगेका प्रत्याभूति गर्ने नारा हो । तर अझैसम्म पनि हुम्लाको विकट चंखेली गाउँपालिकामा भरपर्दो फोन सेवा नहुँदा गाउँबासी करिब २ घन्टाको बाटो हिँड्नुपर्ने बाध्यतामा छन् ।
६ वटा वडा भएको गाउँपालिकाको नेप्कामा अहिलेसम्म टेलिफोनका टावर नै नराखिँदा त्यहाँका स्थानीयलाई फोन, मोबाइल के हो भन्ने थाहासमेत छैन । त्यहाँका स्थानियलाई समृद्ध शब्दको अर्थले के नै प्रभाव जमाउनसक्यो र ?
पछिल्लो समय बल्ल त्यहाँ टेलिफोन टावरका सामग्री आइपुगेकाले बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाँईले बताए । भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा २०६६ मा एउटा मात्र नेपाल टेलिकमको टावर मेल्छामको वडा नम्बर ५ मासिधारमा ठड्याइएको थियो ।
उक्त टावरको क्षमता कम भएकाले सीमित मात्रामा फोन सेवा लिन सकिन्थ्यो । अहिले उक्त टावर पूर्ण रूपमा बन्द हुँदा २ घन्टाको पैदल बाटो हिँडेरै रूखको टुप्पोमा गएर फोन गर्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष चौलागाईं सुनाउँछन् ।
‘टेलिफोन नभए पनि इन्टरनेट सेवा छ तर अत्यन्तै सुस्त’, चौलागाईं भन्छन्, स्थानीयले फोन सेवा पाउनु त परको कुरा । म आफैं गाउँपालिका अध्यक्षले समेत २ घन्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ । त्यो पनि घाम लागेका बेला काम गर्छ घाम नलागे फोन टिप्दैन ।’
पानी परे, हावा–हुरी लागे तथा हिमपात भए टेलिफोन सेवा पूरै ठप्प हुने गरेको उनले बताए । टेलिकमलाई फोनका लागि आग्रह गरिए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
‘गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि धेरै पटक सञ्चार मन्त्रालय, नेपाल टेलिकममा धाउँदाधाउँदै हैरान भइयो । सम्बन्धित निकायले हुन्छ–हुन्छन् भन्छन् तर काम कहिल्यै गर्दैनन्’, उनले भने ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय, टेलिकमलगायत सम्बन्धित निकायलाई जानकारी गराइसकिए पनि टावर मर्मतका लागि कोही टोली नखटाएको उनले सुनाए । चौलागाईंका अनुसार सम्बन्धित निकायमा जाँदा भिस्याट विस्तार गर्ने नेपाल सरकारको रणनीति भएकाले नयाँ टावर विस्तार नगरिने जवाफ आएको उनले बताए ।
फोरजी विस्तारका लागि देशैभर ५६ वटा टावरको टेन्डर भइसकेको र नेप्कामा पनि जडान गरिने आश्वास आएको २ वर्ष बितिसके पनि अझैसम्म नबनेको उनको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, ११ : ४६
लेखकबाट थप