प्रदेश १ : मन्त्रिपरिषद् विस्तारमै गनगन

पत्रपत्रिकाबाट

शनिबार, १० चैत्र २०७४, ०७ : २५
प्रदेश १ : मन्त्रिपरिषद् विस्तारमै गनगन

भौतिक पूर्वाधार व्यवस्थापनमा कठिनाइ र पार्टीभित्र आकांक्षी धेरै भएपछि प्रदेश १ को मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। सत्तासीन एमाले र माओवादीमा मन्त्री बन्ने आकांक्षीको लर्को लागेपछि मन्त्रिपरिषद् विस्तारमा बाधा पुगेको हो। आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रदेश मुख्यमन्त्रीले सानो मन्त्रिपरिषद् बनाउने बताउँदै आएका छन्। मुख्यमन्त्री शेरधन राईले ७ सदस्यीयभन्दा ठूलो मन्त्रिपरिषद् नबनाउने अडान राखिरहुदा एमाले र माओवादीकै केही सांसदले भने मन्त्रिपरिषद् ९ या ११ सदस्यीय बनाउनुपर्ने धारणा राख्दै आएका छन्। एमाले प्रदेश–१ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ७ सदस्यीय मन्त्रिपरिषद्ले आकांक्षीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने भएकाले ९ या ११ सदस्यीय बनाउनुपर्ने बताए।

मन्त्रिपरिषद् कति सदस्यीय बनाउने र को–को मन्त्री बन्ने भन्नेबारे अझै सत्तासीन दलभित्र विवाद छ। गत फागुन ३ गते पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि सत्तासीन दलबीच मन्त्रिपरिषद्को आकारकै विषयमा कुरा नमिल्दा विस्तार गर्न बाधा भइरहेको छ।

एमालेले सरकारमा पठाउन बाँकी एक कोटामा महिला छान्ने भएको छ। माओवादी केन्द्रले भने वरिष्ठता आधारमा मन्त्री छान्ने तयारी गरेको छ। वरिष्ठता आधारमा मन्त्री छान्दा माओवादी केन्द्रबाट विस्तारित मन्त्रिपरिषद्मा महिला पर्ने सम्भावना नरहेको आङ्बुहाङ्ले बताए। माओवादीले रामकुमार राई र झलकसिंह दर्लामीमध्ये एकलाई मन्त्री बनाउन आन्तरिक छलफल गरिरहेको छ। एमालेमा मन्त्रीका आकांक्षीमा तेजमान कन्दङ्वा, सर्वध्वज साँवा, उषाकला राई, यशोधा अधिकारी, सावित्रा रेग्मी, सावित्रा श्रेष्ठलगायत छन्।

 

प्रतिक्रिया दिनुहोस