पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, १६ : २१
पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

चितवन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत प्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । बुधबार पुरस्कार रकम राप्ती नगरपालिका २ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो । 

इन्सेकले यस वर्ष उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा अधिकारीलाई सम्मान एवम् सात हजार नगदसहित पुरस्कृत गरेको थियो । मृतक राजकुमारको २ वर्षको छोरी एलिना चेपाङको शिक्षामा प्रयोग हुने गरी बालिकाको नाममा खोलिएको बैंक खातामा रकम जम्मा गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीमार्फत रकम हस्तान्तरण गरिएको हो । 

मानवअधिकारको क्षेत्रका सक्रिय भई काम गरेवापत पाएको पुरस्कार मानवअधिकार उलंघन भई पीडित बनेका परिवारका लागि उपलब्ध गराउनु सह्रानीय काम भएको जिसस प्रमुख डल्लाकोटीले बताए । नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले सहयोग गरिएको रकमले प्रत्यक्ष रुपमा बालिकालाई उनको शिक्षादिक्षामा फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए । 

गत शुक्रबार हेटौंडामा आयोजित इन्सेक मानवअधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाले पत्रकार समेत रहेका अधिकारीलाई पुरस्कृत गरेको इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए ।

गत साउन १ गते चितवन निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका कर्मचारीको निर्घात कुटपिटबाट सख्त घाइते भएका २४ वर्षीय राजकुमारको साउन ७ गते उपचारका लागि भरतपुर लगिँदै गर्दा निधन भएको थियो । यस घटनाका आरोपित सेनाका हुद्दा तहका कर्मचारी चिरण बुढा जिल्ला अदालत चितवनको गत असोज २७ गतेको आदेशले पूर्पक्षका लागि थुनामा छन् । 

प्रतिक्रिया दिनुहोस