काठमाडौं । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन् ।
चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम बैंकमा दाखिला भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा।नारायण प्रसाद रेग्मीले बताए ।
रकम बैंकमा आएको छ तर किसानको कागजात नमिलेको तथा प्रमाण नपुग्दा वितरणमा समस्या भएको उनले बताए । ‘किसानको भुक्तानी निश्चित भएको छ तर प्रमाण नपुगेका कारण पैसा बैंकमा थन्किन पुगेको छ,’ सहसचिव एवं प्रवक्ता डा रेग्मीले भने । किसानको बैंक खाता नभएको, मिलसँग लिनुपर्ने रकमबारे प्रमाण नभएको जस्ता समस्याका कारण भुक्तानी प्रभावित भएको उनको भनाइ छ ।
रकम खातामा पुगेर पनि वितरण हुन नसकेपछि किसान संघर्ष समितिमार्फत सहजीकरण प्रयास भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयलाई प्राप्त विवरणमा पनि मोटामोटी भुक्तानी सुनिश्चित भएको पाइएको मन्त्रालयले जनाएको छ । अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिलको भुक्तानी बाँकी रहेकोमा उद्योगी पक्राउ गरेपछि भुक्तानी सुनिश्चित भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए ।
उद्योगीबाट भुक्तानी सुनिश्चित भए पनि किसानकै समस्याका कारण शतप्रतिशत भुक्तानी भने बाँकी रहेको उनले बताए । ‘सबै उद्योगको गरेर ८५ प्रतिशत रकम भुक्तानी भएको छ, बाँकी रकम भुक्तानी गर्न किसानको कागजी प्रक्रिया बाधक बनेको छ,’ सूचना अधिकारी लामिछानेले भने ।
किसानहरुलाई आफ्नो कागज पत्रसहित भुक्तानीका लागि आग्रह गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । किसानको भुक्तानी नदिएका कारण पक्राउ परेका दुई जना उद्योगीहरुको अदालती प्रक्रिया जारी रहेको प्रवक्ता लामिछानेले बताए ।
कुल ६५ करोड ३१ लाख बक्यौतामध्ये ५७ करोड ३० लाख रकम माघ पहिलो सातासम्म किसानहरुको खातामा पठाइएको र बाँकी भुक्तानी ८ करोड एक लाख रुपैयाँ पनि किसानले पाउने निश्चित भएको सरकारी दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० फागुन २०७७, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
उखु किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड बजेट विनियोजन
महोत्तरीका किसानले पाए उखुको भुक्तानी