कोरोना खोप कार्यक्रम सुरु भएपनि बिरामीको संख्या दिन प्रति दिन बढ्दो

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, ११ : ४८
कोरोना खोप  कार्यक्रम सुरु भएपनि बिरामीको संख्या दिन प्रति दिन बढ्दो

काठमाडौं । कोरोना खोप कार्यक्रम सुरु भएपनि विश्वका धेरै देशमा अहिले पनि बिरामीहरुको संख्या बढिरहकै छ । यसैलाई मध्यनजर गर्दै क्यानाडा, मेक्सिको र अमेरिकाले २१ मार्चसम्म कडाई लम्ब्याएका छन् । जसअनुसार यहाँका मानिसहरुले अत्यावश्यक बाहेकका काममा यात्रा गर्न पाउने छैनन् । 

मानिसहरुले यात्राका लागि सम्बन्धित अधिकारीलाई जानकारी दिनुपर्ने हुन्छ । २१ फेब्रुअरीसम्मका लागि गरिएको यस्तो कडाईलाई अर्को एक महिनासम्मका लागि लम्ब्याईएको हो ।  यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाईसम्म हरेक अमेरिकीलाई खोप लगाइने जानकारी दिएका छन् । सरकार यसका लागि पूर्ण रुपमा तयार रहेको उनले बताए ।

खोप कम्पनी फाइजरले प्रत्येक साता अमेरिकीहरुलाई एक करोड खोप लगाइने जानकारी दिएको छ । अमेरिकामा अहिलेसम्म ५ करोड ७० लाखभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको छ । त्यसैगरी चीनमा ४ करोड मानिसहरुले खोप लगाइसकेका छन् । युरोपेली युनियनअन्तर्गतका देशहरुमा अहिलेसम्म २ करोड ४५ लाख र भारतमा १ करोड ४ लाखले खोप लगाइसकेका छन् ।

 विश्वमा अहिलेसम्म ११ करोड १२ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ६१ लाख मानिस निको भइसकेका छन् भने २४ लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस