अनेरास्ववियूको चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक, शंख जुलुससहित बालुवाटार घेर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, ११ : २४
अनेरास्ववियूको चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक, शंख जुलुससहित बालुवाटार घेर्ने

काठमाडौं । संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू रञ्जित तामाङ समूहले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल निकट तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

फागुन ६ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल निगम कार्यालय अगाडि प्रदर्शन गरेको अनेरास्ववियूले आज भने विश्वविद्यालय अनुदान आयोग कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउँदै छ ।

 विश्वविद्यालय व्यवस्थापन, अनुदान तथा छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितताविरुद्ध ज्ञापनपत्र बुझाइने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

फागुन ८ गते १ बजे अनेरास्ववियूका पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा रत्नराज्य क्याम्पस अगाडि श्रद्धाञ्जली सभा गर्ने र फागुन १० गते दिउँसो २ बजे प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम राखिएको उनले बताए ।

फागुन ११ गते ११ बजे त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, १३ गते सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने र १४ गते प्रतिगमनविरुद्ध मार्चपास गर्ने कार्यक्रम अनेरास्ववियूले सार्वजनिक गरेको छ ।

फागुन १६ गते ११ बजे प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबार अघि थाल ठटाएर विरोध प्रदर्शन गरिने छ । सोही दिन उपत्यका बाहिर भने सिडियो कार्यालय अगाडि प्रदर्शन हुने छ ।

फागुन १८ गते १ बजे प्रतिगमनविरुद्ध शंख जुलुससहित बालुवाटार घेराउ गर्ने कार्यक्रम पनि तय गरिएको छ । फागुन १८ गते काठमाडौं उपत्यका बाहिर सिडियो कार्यालय अगाडि प्रदर्शन गर्ने अनेरास्ववियूले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस