भागरथी बलात्कार र हत्या प्रकरण : आशंकामा एक जना व्यक्ति पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १५ : ५४
भागरथी बलात्कार र हत्या प्रकरण : आशंकामा एक जना व्यक्ति पक्राउ

बैतडी । भागरथीको बलात्कारपछि हत्या भएको घटनामा आशंकामा एक जना व्यक्ति पक्राउ  परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको स्रोतको दाबी छ । यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन । भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ । ‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो ।

घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको उनको भनाइ छ । स्रोत भन्छ, ‘संदिग्धको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ ।’

यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । एकजना शंकितलाई पक्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुँवर कोही पक्राउ परेकाबारे कुनै जानकारी आइनसकेको बताउँछन् ।

घटनास्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन् । अहिले घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेको वा नपरेको बारे केही बोल्न नमिल्ने बताउँछन् । ती अधिकारीले भने ‘हामी अपराधीको नजिक छौँ । पक्राउ परेको वा नपरेको भन्ने बेला भएको छैन । केही व्यक्तिमाथि क्लोजि मनिटरिङ गरिरहेका छौँ । अहिले धेरै कुरा बोल्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस