चितवन जिल्लाका अधिकांश सिसीटिभी अवैध

बुधबार, ०७ चैत्र २०७४, २० : ११
चितवन जिल्लाका अधिकांश सिसीटिभी अवैध

भरतपुर । सिसीटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ जारी भएपछि अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्नको लागि स्थानीय प्रशासन वा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । तर, जिल्लामा कमैले मात्र  प्रशासन कार्यालयसँग अनुमति लिएर सिसीटिभी राखेका छन् ।
तोकिएको कार्यविधि विपरीत सिसी क्यामेरा जडान एवम् सञ्चालन भए विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने कार्यविधिमा जनाइएको छ । चितवनमा अनुमति लिएरमात्र सिसीटिभी राख्नका लागि परिपत्र र सूचना समेत जारी गरेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सिसीटिभी अनुगमन गर्नका लागि टोली परिचालन भइसकेको बताउनु भयो ।
‘सिसीटिभी राख्ने तयारीमा रहेकाले कार्यविधि अनुसार प्रशासनसंग अनुमति लिएर मात्र राख्न अनुरोध गरेका छौं’ उहाँले भन्नुभयो, ‘राखिसकेकाहरुको हकमा तत्काल जानकारी गराएर अनुमति नलिए कारबाही गर्छौं ।’ थोरैको संख्यामात्र अनुमतिको प्रकृयामा आएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘अटेरी गरे ऐन अनुसार कारबाही गर्छौं ।’
चितवनमा कति सिसी क्यामेरा जडान गरिएका छन् भन्ने आधिकारिक तथ्यांक प्रशासन कार्यालयमा छैन । सुरक्षाको कारण देखाउँदै जडान गरिएका सिसी क्यामेराहरु ‘अवैध’ भएपछि प्रशासनले पछिल्लो समय निगरानी बढाएको छ । प्रशासन कार्यालयले केही समयअघि सार्वजानिक सूचना समेत जारी गरेको थियो । प्रशासनले आन्तरिक रुपमा अनुगमन समेत गरिरहेको छ । चितवनमा जिल्ला प्रहरी, राजमार्ग, चितवन राष्ट्रिय निकुञ्ज, बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुले समेत सिसि क्यामेरा जडान गरेका छन् ।
आपराधिक घटनाको अनुसन्धान सजिलो बनाउन निजी क्षेत्रको सक्रियतामा चितवनका विभिन्न ठाउँमा सिसीटिभी जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जिल्लामा ३७ स्थानमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । ‘विभिन्न संघसंस्थासंग सहकार्य गरेर जिल्लाका सार्वजानिक ३७ स्थानमा सिसीटिभी राखिएको छ’ उहाँले भन्नुभयो, ‘निगरानी प्रहरी कार्यालयबाट गर्दै आएका छौं ।’
चितवनका पुराना उद्योगी ब्यवसायीको समूह द थर्ड भिजन र उद्योग वाणिज्य संघ चितवनको संयुक्त लगानीमा सञ्चालन गरिएको सिसीटिभीले जिल्लाको बजार क्षेत्रको निगरानीमा सहयोग पुगेको छ । द थर्ड भिजन, चितवनको जिल्ला प्रशासन कार्यालय, चितवन गत साउन १४ गते दर्ता गरिएको हो । निजी क्षेत्रले राखेको सिसीटिभीको निगरानी र सिसीटिभी राखिएको घर वा कार्यालय बाहिर तपाईं सिसीटिभीको निरानीमा हुनुहुन्छ भन्ने पोष्टर वा कुनै सूचक राख्नका लागि सबैलाई आग्रह गरिएको थापाले बताउनु भयो ।
२०६८ सालबाट सञ्चालनमा ल्याइएका सिसीटिभीमध्ये अहिले केहीमा भने समस्या देखिएको छ । करिब ६० लाखको लागतमा सञ्चालनमा ल्याइएको सिसीटिभी खराब हँुदा तत्कालको लागि मर्मतका लागि केही रकमको अभाव भएको र जिल्लामा दक्ष प्राविधिक समेत नभएकोले समस्या परिरहेको थापाले बताउनु भयो । सिसीटिभी जडानपछि प्रहरीले चितवनमा चोरी लगायत विभिन्न आपराधिक घटनामा सजिलै सफलता प्राप्त गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस