चितवनका महिला उद्यमी : च्याउखेतीदेखि अचार उद्योगसम्म

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, १७ : ४०
चितवनका महिला उद्यमी : च्याउखेतीदेखि अचार उद्योगसम्म

चितवन । चितवनमा पछिल्लो समय महिला उद्यमीहरुको संख्या बढ्दो छ । कोरोनाको कहरको समयमा पनि चितवनका महिलाहरु आफ्नो उद्यमबाट विचलित भएनन् । चितवनका महिला उद्यमीहरु च्याउखेतीदेखि अचार बनाउनेसम्म छन् । 

महिला उद्यमीहरुलाई अघि बढाउन उवासंघ चितवनले कोशेली घर नै निर्माण गरिदिएको छ । हाल कोशेली घर उवासंघ चितवनको भवनअगाडि नारायणगढमा सञ्चालनमा छ । उद्यमसँग सम्बन्धित विशेष तालिमहरु दिइएको छ । जसका कारण चितवनमा महिला उद्यमीहरुको संख्या बढिरहेको छ । गत वर्ष चितवनमा पहिलो पटक महिला उद्यम मेलासमेत सञ्चालन भएको थियो ।

महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केका अनुसार चितवनमा दुई सयभन्दा बढी महिलाहरुले आफ्नै नेतृत्वमा उद्यम चलाएका छन् । उनले भनिन्, ‘महिलाले चलाएका सबै उद्यमहरु सफल छन्, कसैले झोला बुनेका छन्, कसैले च्याउखेती गरेका छन् कसैले अचार तथा कसैले मस्यौरा बनाउने कामसमेत गरेका छन् । चितवनमा महिला उद्यमीहरुको संख्या बढ्दो छ । बैंकको ऋणदेखि लिएर दर्ता प्रक्रियासम्म महिलालाई केही सहज भएका कारण महिला उद्यमीहरुको संख्या बढिरहेको छ । 

उद्योग वाणिज्य संघ–चितवनको प्रशिक्षण कक्षमा ४ दिने अचार बनाउने तालिम सुरू भएको उनले बताइन् । संयोजक मास्केले भनिन्, ं‘महिलालाई उद्यमतर्फ अघि बढाउन तालिमहरुको आयोजना गरिएको हो, यसले थप हौसला र प्रेरणा जगाउँछ ।’

गृिहणी महिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरी तालिम दिइएको उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘चितवनमा महिला उद्यमीहरुको संख्या बढिरहेको छ, यसमा अझ विस्तार र व्यापक बनाउन उवासंघ चितवनको भूमिका महत्वपूर्ण हुन्छ ।  श्रेष्ठले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै बसी आयआर्जन गर्न सक्ने भएको हुनाले अचार बनाउने तालिमको आयोजना गरिएको बताए ।

उत्पादन भएको अचारको बजारीकरणका लागि उद्योग वाणिज्य संघ–चितवनले पूर्ण सहयोग गर्ने संयोजक मास्के बताउँछिन्, ‘उवासंघ चितवनको पहलमा कोशेली घर निर्माण गरेका छौँ, महिला उद्यमीका उत्पादनहरुको विक्री वितरण कोशेली घरमार्फत बजारमा गइरहेको छ ।’

मास्केले महिलाहरु आर्थिकरुपमा सवल र सक्षम हुनुपर्ने आवश्यकता रहेको बताइन् । मास्केका अनुसार गत वर्ष चितवनमा पहिलो पटक महिला उद्यमी मेला सुरू भएको थियो, जसका कारण धेरै महिलाहरु उद्यममा लागेका थिए ।  मेलाले महिलामा उद्यमशीलता बढाउन मद्दत गरिरहेको छ । 

महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको आवश्यक प्रचारप्रसार गर्ने र महिलामा उद्यमशीलताको विकास गर्ने उद्देश्यले नै चितवनमा पहिलो पटक उद्यमी मेला गरिएको थियो, जसका कारण चितवनमा महिला उद्यमीहरुको संख्या बढाएको थियो । 

महिलाले बुनेका स्वीटरदेखि बनाएका मूर्तिसम्म, खाने अचारदेखि सजाउने गुडियासम्मको बजारी करण उवासंघ चितवनले बनाएको कोशेली घरले महत्वपूर्ण भूमिका खेलेको मास्के बताउँछन् । उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानको समयमा कोशेली घर तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस