म गान्धी होइन : साऊदीका राजकुमार मोहम्मद बिन सलमान

एजेन्सी

बुधबार, ०७ चैत्र २०७४, ०६ : ४३
म गान्धी होइन : साऊदीका राजकुमार मोहम्मद बिन सलमान

साऊदी अरबका राजकुमार मोहम्मद बिन सलमानले शाही जीवन शैली र अत्याधिक धन खर्च गर्ने प्रवृत्तिप्रति माफी नमाग्ने बताएका छन् ।

अमेरिका भ्रमणमा जानुअघि दिएको एक अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत खर्च निजी मामिला भएकाले यसका लागि माफी नमाग्ने बताए । एमबीएस नामबाट समेत चिनिने राजकुमार सलमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा अमेरिका गएका छन् ।

साऊदी अरबका राजा सलमानका ३२ वर्षिय छोरा एमबीएसले जून २०१७ पछि सत्तामा तीव्ररुपले नियन्त्रण हासिल गरेका थिए । उनले आफ्ना काका पट्टीका भाईहरुलाई पदमुक्त गर्दै आफुलाई राजकुमार घोषित गरेका थिए ।

एमबीएसले सत्ताको नेतृत्व सम्हालेपछि साऊदी अरबमा भ्रष्टाचारविरुद्ध अभियान चलेको छ । यो अभियान अन्तर्गत उनले साऊदीका ठूला घरानिया कारोबारी, शाही परिवार र सरकारी अधिकारीहरुका अखडाबाट एक सय अर्ब डलरको सम्पत्ति कब्जामा लिएका छन् ।

राजकुमार सलमानले ती व्यक्तिहरुविरुद्ध कडा कारवाहीको पनि आदेश दिएका छन् । यद्यपी भ्रष्टाचारको मामिलामा स्वयम् सलमान पनि घेरिएका छन् । न्यूयोर्क टाइम्सको प्रतिवेदनअनुसार उनले हालै ३२ सय करोड रुपैयाँको यार्ट, २ हजार ९३६ करोड रुपैयाँको द भिन्चीको पेंटिङ र १ हजार ९५७ करोड रुपैयाँमा फ्रान्सिसी महल खरिद गरेका थिए ।

यसबारेमा राजकुमार सलमानले भनेका छन् , “यो मेरो व्यक्तिगत जीवन हो, जुन मलाई मन पर्दछ । म यसका बारेमा आफ्नो ध्यान लगाउन चाहन्न । यदि कुनै अखबार यसमा औंला उठाउन चाहन्छ भने यो उसैमाथि निर्भर हुन्छ ।”

उनले भनेका छन्, ‘‘जहाँसम्म मेरो व्यक्तिगत खर्चको कुरा छ, म धनी व्यक्ति हुँ । म गरीब छैन । म गान्धी या नेल्सन मन्डेला होइन । म शासक परिवारसँग सम्बन्धित छु जुन सैकडौं वर्षबाट छ ।’’ उनले आफुले गरिरहेको खर्च आफ्नो आयको हिस्सा भएको स्पष्ट पारेका छन् । उनले आफ्नो आयको ५१ प्रतिशत रकम जनाताका लागि र ४९ प्रतिशत आफ्ना लागि खर्च गर्ने गरेको पनि बताएका छन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस