हिउँदे सिजनका लागि ४५ जनाले पाए हिमाल आरोहणको स्वीकृति

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १३ : ५०
हिउँदे सिजनका लागि ४५ जनाले पाए हिमाल आरोहणको स्वीकृति

काठमाडौं । जाडो मौसम हिउँदे सिजनमा हिमाल आरोहण गर्न चाहने कुल ४५ आरोहीले हिमाल आरोहणको स्वीकृति लिएका छन् । पर्यटन विभागको तथ्याङ्कअनुसार गत डिसेम्बर २ देखि फेब्रुअरी २ सम्म हिमाल आरोहण गर्न चाहने नेपाली टोलीसहित विभिन्न मुलुकहरुबाट आएका १० समूहले विभागबाट आरोहणको स्वीकृति लिएका हुन् । 

सो बापत हिउँदे सिजनमा मात्र सरकारलाई कुल ७ हजार ५ सय ८० अमेरिकी डलर अर्थात् ८९ लाख ६ सय ५ रुपैयाँ राजस्व संकलन भएको छ । जुन तथ्याङ्क गत वर्षको भन्दा निकै न्यून रहेको विभागले जनाएको छ ।  कोभिड–१९ का कारण विश्व प्रभावित हुँदा पर्यटन गतिविधि कम भई हिमाल आरोहणका लागि समेत पर्यटकहरु नेपाल आउन नसक्दा परिमाण घटेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।

‘हिमाल आरोहणको र आरोही आगमनको संख्या गत वर्ष भन्दा यो वर्ष निकै कम हो । यो वर्षको हिउँदे सिजनमा मुस्किलले ४५ जनाले मात्र हिमाल आरोहण गरेका छन् । त्यसमा पनि ठूला हिमाल र बढि राजस्व संकलन हुने हिमालको त कमै आरोहण भएका छन् । 

यो सिजनमा सगरमाथाको त एक जनाले पनि आरोहण स्वीकृति लिएनन् । जसका कारण यो मौसममा निकै कम राजस्व संकलन हुन पुगेको छ ।’ महानिर्देशक तामाङले भने, ‘मुस्किलले यो मौसममा करिब ९० लाख राजस्व संकलन गर्न सफल भएका छौं ।’

तामाङका अनुसार कोभिड–१९ का कारण विश्व जगत प्रभावित हुँदा त्यसको नकारात्मक प्रभाव नेपाली पर्यटन क्षेत्रमा पर्न गएको हो । यद्यपि कोभिड–१९ कै प्रभावका बीच पनि नेपाली सहित ४५ जना आरोहीहरुले पर्वातारोहण गरेका छन् ।  जसमा ७ महिला सहित ३८ पुरुष आरोही रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस