अमेरिका-दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अप्रिल १ मा

मंगलबार, ०६ चैत्र २०७४, १३ : ५४
अमेरिका-दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अप्रिल १ मा

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले एप्रिल १ मा आफ्ना सेनाहरूले ठूलो स्तरको सैन्य अभ्यास गर्ने घोषणा गरेका छन् ।
उत्तर कोरियाले अतिक्रमणको तयारीको रूपमा हेर्ने गरेका बेला सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा एउटा मुख्य विवादको विषय रहिआएको छ । शीतकालीन ओलिम्पिक्सका बेला कूटनीतिक सम्बन्धमा देखिएको न्यायोपनका माझ मार्चमा शुरू हुने भनिएको संयुक्त सैन्य अभ्यास रोकिएको थियो । सैन्य अभ्यासमा तीन लाखभन्दा बढी सैनिकहरू र ठूलो मात्रामा सैन्य स्रोत र साधनको परिचालन गरिनेछ।

प्रयत्न
कोरियाली प्रायद्वीपमा तनाव कम गर्ने दिशामा कूटनीतिक प्रयत्नहरू जारी रहेका बेला अप्रत्यासित रूपमा सैन्य अभ्यास गरिने घोषणा गरिएको हो ।
यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनपेक्षित रूपमा प्रत्यक्ष वार्ताका लागि उत्तर कोरियाली नेता किम जङ-अनको निम्तो स्वीकारेका थिए । उत्तर कोरियाले आफ्नो पारमाणविक कार्यक्रम त्याग्न पनि 'प्रतिबद्ध' रहेको बताएको थियो । त्यसबारे थप विवरणहरू चाहिँ सार्वजनिक भएको छैन र उत्तर कोरियाले अहिलेसम्म सिधै प्रतिक्रिया जनाइसकेको छैन।
 

वार्तास्थल
यदि वार्ता भए पदासीन अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो पटक हुनेछ । सम्भावित वार्तास्थलबारे कुराकानीका लागि उत्तर कोरियाली विदेशमन्त्री यसै हप्ताको शुरूतिर स्वीडेन पुगेका थिए।

त्यहाँ उनले वार्ताका लागि तयारी गरेको व्यापक रूपमा अनुमान गरिएको थियो । अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउने गरेका छन् । -बिबिसी

प्रतिक्रिया दिनुहोस