वडाध्यक्षले दिए प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की, भने ‘आजदेखि केही दिन भित्रै तलाई सिध्याईदिन्छु’

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, १३ : ५८
वडाध्यक्षले दिए प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की, भने ‘आजदेखि केही दिन भित्रै तलाई सिध्याईदिन्छु’

दाङ । दाङमा एक प्रधानाध्यपकले वडाध्यक्षलाई ‘अब आजदेखि केही दिन भित्रै तलाई सिध्याईदिन्छु’ भनेर धम्की दिएका छन् । जिल्लाको राजपुर गाउँपालिका ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई सोही वडाको मावी सिक्टामा कार्यरत प्रधानाध्यापक विष्णु खत्रीले माघ ७ गते दिउँसो वडा कार्यालयमै पुगेर ज्यान लिने धम्की दिएको वडाध्यक्षले खड्काले  जानकारी दिए।

प्रधानाध्यापक खत्रीले वडा कार्यालयमै आएर ‘सिध्याइदिने’ धम्की दिएपछि वडाध्यक्षले सुरक्षाको माग गर्दै प्रशासन गुहारेका हुन्। घटनाको दोस्रो दिन माघ ८ गते आफूले वडाकै बरूवा प्रहरी चौकीमा गएर सुरक्षाको माग गर्दै निवेदन दिएको वडाध्यक्ष खड्काले जानकारी दिए। ‘म ७० वर्षे बुढो मानिसलाई प्रधानाध्यापक खत्रीले वडा कार्यालयमै आएर सबैका सामुन्ने ज्यान लिने धम्की दिनुभयो,’ वडाध्यक्ष खड्काले भने, ‘उहाँले यसअघि पनि मलाई एक दुई पटक सार्वजनिक रूपमै त्यस्तै धम्की दिइसक्नुभएको छ।’

वडाध्यक्ष खड्काका अनुसार कार्यालयमा आएर प्रधानाध्यापक खत्रीले उक्त दिन राजनीतिक कुरा गर्न थालेपछि आफूले शिक्षक भएर वडा कार्यालयमा आइ राजनीतिक बहस नगर्न सुझाव दिँदा धम्की दिएर गएको बताए।

‘राम्रोसँग साँझ खाना खाएर सुत्नू, राति म चिसो ठाउँमा पुर्‍याइदिनसक्छु,’ प्रधानाध्याकको भनाई उद्धृत गर्दै वडाध्यक्षले  भने, ‘उहाँले मलाई राति आएर मान्छे लगाएर बेपत्ता पारि ज्यान लिने धम्किसमेत दिएर जानुभएको हो।’

प्रहरीसमक्ष वडाध्यक्ष खड्काले दिएको जाहेरीमासमेत उनले सोही कुरा उल्लेख गरेका छन्। जाहेरीमा उनले सिफारिस लिन आएका प्रधानाध्यापक खत्रीलाई वडा कार्यालयले सिफारिस दिइसकेपछि घर नगई वडा कार्यालयमै बसेर विभिन गालीगलौज गर्दै धम्की दिएको उल्लेख गरेका छन्।

‘म को हुँ चिन्छस्?  अब आजदेखि केही दिन भित्रै तलाई सिध्याईदिन्छु। राम्रोसँग खाना खाएर बसेस्,’ खड्काको  जाहेरीमा उल्लेख छ। जाहेरीमा वडाध्यक्ष खड्काले कार्यालय सहयोगी धना खत्री, अहेब टीका वली, पशु चिकित्सक शेरबहादुर बस्नेत र वडासचिव लगायत अन्य थप एक दुई जना व्यक्तिका सामुन्ने प्रधानाध्यापक खत्रीले आफूलाई धम्की दिएको निवेदनमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस