सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १२ : ५८
सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तु, जुम्ला, झापा, रुकुम (पूर्व), सप्तरी र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। कपिलवस्तु बिजयनगर गाउँपालिका ४ पुराउस्थित सडकमा बा.१२ च २११६ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही वडाको मिझुनयाँ बस्ने ८० वर्षीय सुन्तला पासीको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुम्ला हिमा गाउँपालिका १ किनडाँडामा अन टेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा सवार हिमा गाउँपालिका २ बस्ने ९  वर्षीय हिमाल रोकायाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापा बाह्रदर्शी गाउँपालिका ३ बाह्रदर्शी चोकमा मे।७ प ७९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका १ बस्ने ३२ वर्षीय नन्दलाल राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि पदम क्लिनिक राजगढमातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय कोकिल राजवंशीलाई सोही क्लिनिक हुँदै थप उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको छ ।  

रुकुम (पूर्व) भुमे गाउँपालिका १ छाला लुकुममा रा.१ ह ४०९९ को नम्बरको अटो बुधबार दिउँसो दुर्घटना हुँदा अटो चालक १७ वर्षीय आशिष बिकको घटनास्थलमै मृत्यु भएको छ । घाइते भएका अटोमा सवार सोही ठाउँ बस्ने १५ वर्षीया एलिना बिक र १४ वर्षीया अन्जनी बिकलाई उपचारका लागि जिल्ला अस्पताल रुकुम (पश्चिम) पठाइएको छ ।

सप्तरी  खडक नगरपालिका ११ बनौलीस्थित सडकमा प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय शिवेन्द्र साह र मोटरसाइकलमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । घाइते भएका उनीहरुलाई उपचारका छिन्नमस्ता अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय सुनिल कुमार चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही हरिबन नगरपालिका ४ स्थित सडकमा ना.५ ख ४४८८ नम्बरको बस अनियन्त्रित भई १० मिटर तल पल्टिएर बुधबार बिहान दुर्घटनामा हुँदा बसमा सवार दाङ राप्ती गाउँपालिका ५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्ती गाउँपालिका बस्ने २३ वर्षीया निर्मला चौधरीको मृत्यु भएको छ । राजकुमारीको घटनास्थलमै तथा दुर्घटनामा घाइते भएकी निर्मलाको उपचारका लागि न्यूरो अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत १७ जनामध्ये २ जनालाई सोही ठाउँस्थित नमूना अस्पताल, ९ जनालाई सोही ठाउँस्थित स्वाभिमान अस्पताल र ५ जनालाई न्यूरो अस्पताल वीरगंजतर्फ पठाइएको छ । 

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस