ओली क्याम्पमा ईश्वर र बादलका बीचमा सिनियरको झगडा !

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, ०९ : ४२
ओली क्याम्पमा ईश्वर र बादलका बीचमा सिनियरको झगडा !

काठमाडौं । नेकपाको ओली समूहमा ओलीपछिको नेता को भन्नेमा विवाद सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा (बादल) लाई पार्टी एकताको झल्को नै दिने गरी आफूपछिको दोस्रो नेताका रुपमा स्थान दिने बताए पनि त्यो अनुसारको व्यवहार हुन नसकेको भन्दै उनी पनि असन्तुष्ट हुन थालेका छन् ।

अर्काेतिर बादलले जबर्जस्ती ओलीपछि आफू नै भएको देखाउने गरी ओली गुटको भेला, बैठकहरुमा अभिव्यक्ति दिन थालेपछि उपप्रधानमन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेल झस्किन थालेका छन् । बादलले गत हप्तामात्रै ललितपुर महालक्ष्मी स्थानमा भएको खेलकुदकर्मीहरुको भेलामा ओली र आफूलाई समकक्षीको रुपमा चित्रित गर्दै भाषण दिएका थिए । उक्त भाषणपछि ओली क्याम्पमा खैलाबैला भएको स्रोतले बताएको छ । बादलले त्यहाँ तपाईहरु प्रचण्ड नेपाल समूहमा लाग्ने कि ओली बादल समूहमा भन्दै नेकपाको ओली र आफू दुबै अध्यक्ष रहेको सन्देश दिएका थिए ।

नेकपाको विद्यानमा दुई अध्यक्षको ब्यवस्था छ । अर्काे पक्षमा प्रचण्ड अध्यक्ष छँदै छन् । ओलीलाई यो समूहले अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षबाट हटाएको छ । ओलीको स्थानमा पार्टी अध्यक्षमा वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष चयन गरेको छ । अहिले भने ओलीलाई साधारण सदस्यबाट पनि किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ । 

त्यस्तै ओली पक्षले भने अब ओलीपछिको वरियतामा को भन्ने टुग्गो लगाएको छैन । बादलले प्रचण्ड नेपाल समूह छोडेर ओली समूहमा लाग्दा उनलाई ओलीले बामदेव गौतम पार्टीमा आए गौतमपछि र नआए आफूपछिको दोस्रो नेता बनाउने आश्वासनसहित आफ्नो समूहमा लगेको चर्चा चल्ने गरेको छ । तर व्यवहारमा भने त्यस्तो नभएको गुनासो उनले यदाकदा सुरु गर्न थालिसकेका छन् ।

काठमाडौंको भेलामा उनलाई पोष्टरमै समेत राखेर ओलीपछिको नेता देखाउन कोसिस गरिएको थियो । तर व्यवहारमा त्यस्तो नदेखिएपछि उनी असन्तुष्ट देखिएको स्रोतको भनाइ छ । त्यहाँ ओली पक्षका चार नेता मञ्चमा थिए । भाषण गर्ने क्रममा  बादलले ईश्वरपछि आफूले बोल्न पाउने आस गरेका थिए । तर बादलको त्यो आस त्यहाँ मेटियो । सुरुमा कृष्णगोपाल श्रेष्ठ बोले, त्यसपछि बादल । तेस्रोमा ईश्वर र अन्तिममा केपी ओलीले काठमाडौंको निकट कार्यकर्ता भेलामा सम्बोधन गरे । त्यहाँ बादलभन्दा ईश्वर नै अगाडि रहेको सन्देश ओली पक्षले दियो ।

त्यसपछिको खेलकुदकर्मीहरुको ललितपुरको भेलामा बादलले प्रचण्ड नेपाल समूहमा लाग्ने या केपी बादल समूहमा लाग्ने भनेर आफूलाई ओली पछिकै दोस्रो नेता देखाउन खोजे । त्यसपछि भने प्रधानमन्त्री ओलीसँग ईश्वर पोखरेलले अहिले नै बादललाई ईश्वरपछिको मात्र नेता भन्ने स्पष्ट पारिदिन आग्रह गर्न थालेको स्रोतहरुले बताएका छन् ।

बिना सिपाही एक्लै समूहमा आएको र उनको यो समूह निर्माणमा कुनै खास योगदान पनि नरहेकोलाई म कसरी सिनियर मानूँ ? हिजो एकीकृत पार्टीमा पनि म भन्दा जुनियर रहन सहमत रहेको र सरकारमा पनि आफूभन्दा मर्यादाक्रममा तल नै रहेको व्यक्तिलाई आफूले नेता मान्न नसक्ने दलिल ईश्वरले प्रधानमन्त्री ओली समक्ष गर्न थालेका छन् ।

पूर्व माओवादी धारका र अहिले ओली क्याम्पमा लागेका ब्यक्तिहरु बादलसँग नजोडियून भनेर अहिले पोखरेलले तिनीहरुलाई बोलाइ बोलाइ आफूसँगनजिक तुल्याउने र भित्रभित्र बादललाई अहिलेदेखि नै कमजोर बनाउने रणनीतिमा ईश्वर जुटिसकेका छन् । त्यसका लागि उनले पूर्वमाओवादी समूहमा रहेका नेताहरुलाई अहिले बोलाई बोलाई विशेष महत्व दिएर भेटवार्ता गर्न थालेका छन् ।

उनले पछिल्लो समय गिरिधारीलाल न्यौपानेसँग भेट गरेका छन् । उनी तत्कालीन नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबाट माओवादीमा आएका थिए । पछि उनले माओवादी विभाजनपछि बादल समूह रोजेका थिए । तर बादलसँगै उनी ओली समूहमा गएनन् । ओलीका मान्छेहरुले प्रदेश ५ का सांसद समेत रहेका उनलाई प्रदेश सरकारमा सहभागी गराउने देखिका अनेक आश्वासन दिलाएर आफ्नो क्याम्पमा तानेका छन् ।

बादल उनी पनि आफनो समूहमा रहेको बताइरहेका छन् । तर ईश्वरले बादलका मान्छे भन्नेहरुलाई बादलसँग नजिक हुन नदिई आफूतिर तानेर बादललाई फेरि थप कमजोर बनाउने रणनीति अख्तियार गरेका छन् । ईश्वर र बादलका बीचमा सुरु भएको ओलीपछिको नेता को भन्ने विवादले ओली क्याम्पमा फेरि खैलाबैला सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस