राजनाथलाई भेट्दा देशको नक्सा खोई ?

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, ०९ : १९
राजनाथलाई भेट्दा देशको नक्सा खोई ?

काठमाडौं । सामान्यतयाः अर्काे देशका समकक्षी या मन्त्री कुनै औपचारिक भेटघाट  कार्यक्रममा जाँदा सम्बन्धित मन्त्रीको देशको झण्डा सँगै राख्ने प्रचलन विश्वमै छ । कतिपय विदेशका मन्त्रीहरु नेपाल आउँदा र उनीहरुले यहाँका समकक्षी तथा मन्त्रीहरुसँग औपचारिक भेटवार्ता गर्दा उनीस्हरुकै देशको सानो नै किन नहोस् झण्डा राखेर पहचिान र सम्मान दिने गरिन्छ ।

तर भारतमा हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको हकमा त्यस्तो भएको छैन । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन पुगेका मन्त्री ज्ञवालीलाई त्यही बैठकमा समेत नेपालको चुच्चे नक्सा नसमेटिएको पुरानो नेपालको नक्सा राखेर हेप्ने शैली देखाएको छ । त्यति मात्र होइन, परराष्ट्रमन्त्री ज्ञवालीले हिजो स्वदेश फर्किन लाग्दा भेट गरेका भारतका रक्षामन्त्री राजनाथ सिंहसँग छलफल गरेका थिए । त्यसक्रममा रक्षामन्त्री सिंहको पछाडि भागमा भारतको दुई\दुई वटा झण्डा राखिएको छ । तर नेपालका परराष्ट्रमन्त्रीको साइडमा भने नेपालको कुनै झण्डा पनि राखिएको छैन ।

परराष्ट्रमन्त्री ज्ञवालीले नितान्त व्यक्तिगत भेटघाट गरेको भए अलग कुरा हो । तर देशको प्रतिनिधित्व गरेर भारतका कुनै मन्त्रीलाई औपचारिक भेटघाट गरेका हुन् भने त्यहाँ देशको प्रतिनिधित्व गर्ने गरी झण्डा हुनुपर्ने थियो । तर रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको साइडमा नेपालको झण्डा देखिएको छैन ।

भारतप्रति पछिल्लो समयमा असाध्यै भक्तिभाव देखाउँदै प्रधानमन्त्री केपी ओलीले साथ र सहयोग खोजेका छन् । त्यसका लागि उनले भित्री रुपमा अनेक चाकरीका काम सुुरु पनि गरेका छन् । उत्तरसँग भन्दा दक्षिणसँगै सम्बन्ध सुधार गर्ने र ढल्किने रणनीति ओलीले पछिल्ला दिनमा अख्तियार नगरेका पनि होइनन् । तर पनि भारतले परराष्ट्रमन्त्री ज्ञवालीलाई निम्तो दिएर संयुक्त आयोगको बैठकमा सीमा समस्याका बारेमा खास छलफल गर्नै चाहेन । उसले दिएको एजेण्डामा मात्र कुरा गर्ने गरी नेपालले उठाउने सिमा विषयलाई पन्छाउने काम गर्यो ।

लामो समयदेखि संवाद हीनता तोडदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गए पनि त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अनेक प्रयास पनि गरे । तर ज्ञवालीले मोदीलाई भेट्न सकेनन् । उनी मोदीसँग भेट नगरी नै स्वदेश फर्केका छन् ।नेपालले भारतका विदेश सचिवसम्मलाई नेपाल आउँदा राष्ट्रपतिसम्मलाई भेट गराउने गरी वतावरण बनाए पनि भारतले नेपालको परराष्ट्रमन्त्री ज्ञवालीलाई उनका देशको प्रधानमन्त्री मोदीसँगसमेत भेट गर्न नदिई फर्किने वातावरण बनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले यसलाई लोकलाजको विषयसँग दाँजेका छन् । उनले समाजिक सन्जालमै टिप्पणी लेख्दै भनेका छन्,– ‘भारतीय विदेश सचिव नेपाल आउँदा हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, परराष्टमन्त्रीदेखी विपक्षी दलका नेतासम्मलाई भेटेर फर्किनुभएको थियो । हाम्रा परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीलाई पनि नभेटेर फर्किनुभएछ । लोकलाजका लागि भए पनि सार्वजनिक मर्यादा कायम गर्न सकेको भए !’

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र त्यसपछि चुनावको घोषणा गरेपछि गहिरिएको राजनीतिक संकटका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण भएकोले पनि उनको भ्रम्णलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । अर्काेतिर नेपाल–भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासँगको सिमा विवादका कारण यसमा पनि महत्वपूर्ण भ्रमणका रुपमा हेरिएको थियो । तर, उनको भ्रमण आउने जाने बाहेक केही उल्लेखनीय नदेखिएको परराष्ट्रका जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस