साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री महासेठ

आइतबार, ०४ चैत्र २०७४, १६ : ३५
साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न हुन्छ  : मन्त्री महासेठ

काठमाडौ । भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गर्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौमा भएको साक्षत्कारमा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए । आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।

मन्त्री महासेठले पाँच वर्षभित्रमा काठमाडौमा रेलमार्ग निर्माण हुने दाबी समेत गरे । महासेठले केही दिनभित्र नै काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे ।

ईच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने उनको भनाई छ । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन । ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस् ।’ महासेठले दावी गरे । उनले भने ‘थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाइ एयरवेज आज कहाँ पुगिसक्यो । नेपाल वायुसेवा निगम कहाँ छ ? ईच्छाशक्तिका कारण हो ।’

विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे । “विगतलाई बिर्सौँ । अहिले हाम्रा राजनेताहरुमा ईच्छाशक्ति छ । प्रधानमन्त्री ओलीले विकास निर्माणसँग सम्बन्धित सबै मन्त्रालयको सोझै निगरानी गरिरहनुभएको छ ।”
 

प्रतिक्रिया दिनुहोस