हेटौँडा बजारमा फुटपाथ हटाउँदै संयुक्त प्रहरी टोली

आइतबार, ०४ चैत्र २०७४, १६ : ११

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा आज फुटपाथ क्षेत्रमा राखिएका सामानहरु हटाइएको छ । निर्देशन विपरित अटेर गर्दै सटरभन्दा बाहिर सामान राख्ने र फुटपाथमा सामान बेच्नेलाई नगर प्रहरी सहितको टोलीले सजग गराउँदै हटाएको हो ।

यसबारेमा जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नविन अधिकारीले हेटौँडाका विभिन्न स्थानहरुमा सटरबाहिर राखिएका सामानहरुलाई सटरभित्रै राख्न निर्देशन दिएको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी टोली, नगर प्रहरी र सिभिल प्रहरीको संयुक्त टोलीले फुटपाथ हटाउन पहल गरेको हो ।

अधिकारी अनुसार हटौँडाको सिमाचोकदेखि बुद्धचोकसम्म, टिसिएन रोड क्षेत्र, राप्ती रोड र उद्योग वाणिज्य संघ आसपासका सडक क्षेत्रमा अभियान चलाइएको बताएका छन् । संयुक्त निर्देशनलाई अटेर गरेता पनि व्यापारीहरुले सहजै रुपमा सामानहरु भित्र राख्दै प्रहरीको कामलाई सहयोग पुराएको अधिकारीले बताएका छन् । व्यापारीहरुले पनि फुटपाथमा सामान राख्दा अप्ठ्यारो हुने कुरा बुझेका भए पनि केहीले भने अटेर गर्दै सामान बाहिर निकालेको उनले बताए ।
गत फागुन १ गतेदेखि मकवानपुर उद्योग वाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले संयुक्त रुपमा नगरको फुटपाथ हटाउने कार्य सुरु गरेका थिए । साथै विभिन्न स्थानमा पार्किङ तथा विक्री वितरणको लागि समेत स्थान छुटाइएको थियो । उनीहरुले पसलेहरुलाई सटरभन्दा बाहिर सामाग्री नराख्न पनि निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस