दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी

आइतबार, ०४ चैत्र २०७४, १५ : ०८
दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजीव गुरुङ विरुद्ध नेपाल प्रहरीले ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । केही समयदेखि प्रहरीको फरार सूचीमा रहेका सांसद मनाङे नेपाल बाहिर रहेको सूचनाका आधारमा प्रहरीले रेडक कर्नर नोटिस जारी गरेको हो ।

नेपालमा मात्र नभएर विदेशमा समेत खोजी भइरहेको बताउँदै प्रहरी प्रवक्ता (डिआईजी) मनोज न्यौपानेले भने, ‘अदालतबाट कैद सजायको फैसला भएका दीपन मनाङ्गेलाई हामी खोजिरहेका छौं, नेपालमा मात्र नभएर विदेशमा समेत खोजिरहेका छौं ।’ ‘गुण्डा नाईके’को रुपमा चिनिएका दीपन मनाङ्गे २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा पाँच वर्ष कैद सजाय तोकेको थियो ।

तर, लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो । फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टा–छुट्टै टोली बनाएर मनाङेको खोजी गरेको भएपनि फेला पार्न भने सकेको थिएन ।

लामो समयसम्म पनि फेला नगरेपछि नेपाल बाहिर गएको सूचनाको आधारमा रेड कर्नर नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । २०६१ सालमा चक्रे मिलनको हात काटेको घट्नामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेसमुह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस