प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न आज धनगढी जाँदै, जिल्लाको सुरक्षा व्यवस्था कडा पारियो

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, ०९ : २५
प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न आज धनगढी जाँदै, जिल्लाको सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न  आज धनगढी जाँदै छन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् । धनगढीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

ओलीले जनसभामा प्रतिनिधिसभाको विघटन गर्नुपर्ने कारण राख्दै पार्टीको संस्थापन र आधिकारिक पक्षबारे सन्देश प्रवाह गर्नेछन् । करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना चार दिनेदेखि धनगढीमा खटिएका छन्।

प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।
कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भएको जानकारी दिए । जनसभाका लागि विभिन्न समिति गठन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस