संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा ढुक्क छु : नारायणकाजी श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १५ : ५५
संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा ढुक्क छु : नारायणकाजी श्रेष्ठ

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा ढुक्क रहेको बतएका छन् । 

मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बताएका हुन् । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमती बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उहाँले बताउनुभयो । संविधानको धारा ७६ को कुनैपनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनकोे भनाई छ ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधि सभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गरे ।

त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनको भनाई छ । सरकारले दबाब र प्रभावमा पारी आफु अनुकुल निर्णय गर्न बाध्य पारे निष्पक्ष निर्णय गर्न जनताले वातावरण बनाईदिने उनले बताए । आफुहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रीत रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।

पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफुहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठले बताए । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी दिए । प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम पूर्ण रुपमा परास्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने पनि बताए ।