कन्दरा ब्याण्डले नारायणगढमा संगितिक प्रस्तुती दिने

आइतबार, ०४ चैत्र २०७४, ०७ : २२

भरतपुर  : ५० को दशकमा चर्चाको उत्कर्षमा पुगेको पोखराको ब्याण्ड ‘कन्दरा’ लामो समय सुस्तायो । तर, पछिल्लो समय फेरि यो ब्याण्ड सांगीतिक क्षेत्रमा उदाएको छ । करिब डेढ दशक नै सांगीतिक क्षेत्रबाट हराएको यो ब्याण्डले आफ्नो ७ जनाकै टिम बनाएर पुनरागमन गरेको हो । 
कन्दराको पुनरागमन प्रयासले उत्साहजनक गतिसमेत लिन थालेको छ । यही चैत ११ गते कन्दरा ब्याण्ड आफ्ना पुराना प्रशंसकलाई व्युँताउन र नयाँ प्रशंसक बढाउन चितवनको नारायणगढ आउने भएको छ । ब्रोसिस इन्टरटेनमेन्ट चितवनले चुल्हो रेष्टुरेन्टसँग मिलेर कन्दराको पुरानो रौनकलाई पुनः नारायणगढमा फैलाउने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नारायणगढको क्याम्पाचौरमा हुने सांगीतिक कार्यक्रममा ५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा रहेको ब्रोसिस इन्टरटेन्मेन्टले जनाएको छ । 
लामो समयपछि पुनरागमन गर्दा नयाँ र पुराना सबै गायकसँग प्रतिष्पर्धा गर्ने चुनौती थपिएको ब्याण्डका मुख्य गायक विवेक श्रेष्ठले बताएका छन् । नयँ पुस्ताले आफूलाई चिन्नसमेत छाडेको अवस्था आफैलाई चुनौतीका रुपमा प्रस्तुत भएको उल्लेख गर्दै श्रेष्ठले आफूहरु यो दशकौंको ग्यापलाई फेरि हटाउन लागिपरेको बताए । पुराना तीन सदस्यसहित चार नयाँ सदस्यले ब्याण्डलाई पूर्णता दिएको उनले जानकारी  गराए । 
लामो समयको रिक्ततापछि पनि ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी, ‘लेककी हे माया’ जस्ता लोकप्रिय गीतहरुले कन्दरालाई जीवन्तता दिइरहेको भन्दै थप मेहेनतका साथ अघि बढ्न सांगितिक कार्यक्रम एवम कन्सर्टमार्फत आएको उनले बताए ।


 

प्रतिक्रिया दिनुहोस