के सन्देश बोकेर फर्कियो चिनीयाँ कम्युनिष्ट पार्टीको विशेष टोली ?

नेपालमा भर्खर द्धन्द्ध बढ्न थालेको र नेकपाका दुवै पक्षका पूर्व अडान पार्टी एकताका लागि बाधक भएको निश्र्कष सहित फर्कियो चिनीयाँ कम्युनिष्ट पार्टीको टोली

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, ०९ : ००
के सन्देश बोकेर फर्कियो चिनीयाँ कम्युनिष्ट पार्टीको विशेष टोली ?

काठमाडौं । नेपालमा राजनीतिक भ्रमणमा आएको उत्तरी छिमेकी मुलुक चीनको कम्युनिष्ट पार्टी (सिपिसि) का अन्तरािष्ट्रय विभागका उपमन्त्री कुओ यैचौं नेतृत्वको टोली चार दिन काठमाडौं बसेर हिजो बिहानै चीन फर्केको छ । दुतावासमै अड्डा जमाएर बसेको यो टोलीले नेकपामा आएको विभाजनका विषयमा यथार्थ जानकारी लिने र नेकपालाई सक्दो जोड्ने मिसनका साथ काठमाडौं उत्रेको थियो ।

विवादको यर्थाथता पहिल्याउने र नेकपा जोड्न प्रयास गर्ने गरी आवश्यक पर्दा दोश्रो र तेश्रो पुस्ताका नेकपाका युवा नेताहरुसम्मलाई पनि भेट्ने सेडुअल यो टोलीले बनाएर काठमाडौं आएको थियो । तर राष्ट्रपति देखि दुवै नेकपाका शीर्ष नेताहरुका बीचको सम्वाद पछि टोली नेकपालाई जोड्न नसक्ने निश्र्कषमा पुगेर फर्केको हो । त्यसपछि भने यो टोलीले दोश्रो र तेश्रो पुस्ताका नेकपाका युवा नेताहरुलाई भेटने सेडुअल नै परिवर्तन गरी चुपचाप दुतावासमै बसेको थियो ।

नेपाल आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई यो टोलीले दुई दुई घण्टा अलग अलग छलफल गरेको थियो । त्यसको भोलिपल्ट नेकपाका अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए ।

त्यसको भोलिपल्ट काँग्रेस सभापति शेरबहादुर देउवासँग औपचारिक भेटवार्ता गरेपछि टोली अन्य नेतालाई भेटघाट नगरी सिधै हिजो बेइजिङ फर्केको हो । चिनीयाँ टोलीसँगको भेटमा प्रधनमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डका आ–आफ्नै अडान देखिए । अर्थात, संसद पूर्नस्थापना अब सम्भव नभएको, चुनावमा जानुपर्ने र चुनावले नै अब सबै देखा परेका अन्तरविरोध हल गर्ने भएकोले मिलेर चुनावमा जानुपर्ने अडानमा ओली देखिए ।

प्रचण्ड भने ओलीले संसद विघटन गरेर असम्वैधानिक कदम चालेको, संसद जिवितै रहेकोले पहिले यसको पूर्नस्थापना गर्नुपर्ने, तब मात्र फेरि वार्तामा बस्न सकिने अडानमा देखिएका छन् । चिनीयाँ पक्षका नेताहरुले शीर्ष नेताहरुसँग गरेको छलफलका क्रममा दुवै पक्ष यही अडानमा अडिएपछि नेकपा अब मिल्न नसक्ने अवस्थामा पुगेको निश्र्कषमा चिनीयाँ टोली पुगेको हो । त्यसपछि उसले नेपालमा अब भर्खर राजनीतिक द्धन्द्ध देखा पर्न थालेको, दुवै पक्षका पूर्व अडान पार्टी एकताका लागि बाधक देखिएको निश्र्कषमा पुगेको हो ।

चीनले नेपालमा अस्थिरता बढ्न सक्ने अनुमान गरेको छ । नेपालको राजनीति स्थिरताका साथ चलोस् भन्ने अपेक्षा चीनको देखिन्छ । तर यहाँको सत्ताधारी दलमा आएको विभाजनले फेरि मुलुक संविधान निर्माण अगाडीको अवस्थामा पुगेको र यसले अस्थिरता बढाउन सक्ने बुझाईमा सिपिसिको टोली देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस