काठमाडौँ । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आज मन्त्रालयमा भएको बार्तामा चार बुँदे समझदारी भएको जनाइएको छ ।
एक्काइस दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउन सहमति भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार १६ दिनदेखि आन्दोलनरत किसानले मङ्गलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको छ । एक्काइस दिनभित्र पनि उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई मन्त्रालयले कानूनी रुपमा कारवाही गर्ने सहमति भएको छ ।
यसैगरी आजको वार्तामा उखुको अनुदान रकम र भुक्तानी गर्नुपर्ने रकम फरक परेकालगायत विभिन्न विषय तथा समस्या समाधानका लागि एक अध्ययन समिति गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयका प्रतिनिधि रहनेछन् । किसानले विभिन्न उद्योगबाट रु ९२ करोड बक्यौता रकम लिन बाँकी रहेको बताउँदै आएका छन् भने उद्योग मन्त्रालयको तथ्याङ्कमा रु ६५ करोड मात्र बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ पुस २०७७, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
उखु किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड बजेट विनियोजन
महोत्तरीका किसानले पाए उखुको भुक्तानी