झडपमा १८ तालिवान मारिए

शनिबार, ०३ चैत्र २०७४, ०९ : १५
झडपमा १८ तालिवान मारिए

काबुल । अफगानिस्तानमा हालै भएका झडपमा परी कम्तीमा १८ तालिबान आतंककारी मारिनुको साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको झडप र हवाई कारबाहीमा परी ती तालिबान लडाकू मारिएका हुन् ।

अफगान गृहमन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ । अफगानिस्ताका विभिन्न स्थानमा नेटो र अमेरिकाआवद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाइ बलले युद्धक विमानबाट तालिवान आतंककारी विरुद्ध कारबाही गर्दै आएको छ । अफगानिस्तानाको दक्षिणी प्रान्त हेलमान्ड तालिबानको बलियो प्रभाव रहेको प्रान्तको रुपमा रहेको छ ।

जारी यस कारबाहीको विषयमा १६ वर्षभन्दा बढी समयदेखि अफगान सरकारसँग युद्धगर्दै आएका तालिबान लडाकूले भने केही टिप्पणी गरेका छैनन् । समाचारमा जनाइएअनुसार यस कारबाहीको क्रममा सुरक्षा अधिकारीतर्फ भने कुनै हताहत भएको छैन । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस