६० प्रतिशत बढ्यो फलामको मूल्य

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १८ : ०३
६० प्रतिशत बढ्यो फलामको मूल्य

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रील बनाउन प्रयोग गरिने फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन् । 

व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रील बनाउन प्रयोग गरिने फलामको मूल्य अत्याधिक, अनियन्त्रित र अस्वाभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धारासायी हुने स्थीतिमा पुग्न सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । 

महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउदै ग्रील बनाउने फलाम र निर्माण सामग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । 

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको बृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाई छ । केही सिमित उद्योगीको आपसी मिलेमतोमा फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए ।

फलामाको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए । यसबाट देशभरी सञ्चालित ११ हजार भन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए । करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए । 

बजारमा देखिएको अस्वभाविक मूल्य बृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रील बनाउने फलामको मूल्य ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका छन् । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रील जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस