दाहाल–नेपाल : ३५ वर्ष पछि एउटै पार्टी, समान हैसियत

पत्रपत्रिकाबाट

शनिबार, ११ पुस २०७७, ०७ : ३९
दाहाल–नेपाल : ३५ वर्ष पछि एउटै पार्टी, समान हैसियत

काठमाडौँ । ५० को दशकदेखि नै अनेकखाले आन्दोलनको रापतापले भरिभराउ हुने सडक २०७४ को प्रतिनिधिसभा चुनावयता सुनसानजस्तै थियो । बेलाबखत सडकमा उत्रिने किसान र विभिन्न पेसाकर्मीको आन्दोलनको आकार ठीकठीकै हुन्थ्यो तर शुक्रबार नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालसहित नेता–कार्यकर्ता माइतीघरको चिसो भुइँमा टुसुक्क बसेर सडक संघर्षको सुरुवात गरेपछि आन्दोलनको माहोल विस्तारै गर्माउन थालेको छ ।

नागरिकको दैनन्दिन फेरि अप्ठ्यारोमा पर्ने निश्चितजस्तै छ । संघीयता र गणतन्त्रका लागि एउटै मोर्चामा बसेर संघर्ष गरेका नेकपाका नेता–कार्यकर्ता सरकार र सडकमा बाँडिएका छन् । करिब ३५ वर्ष लामो चिनजान र उतारचढावपूर्ण सम्बन्धलाई जबर्जस्त मित्रतामा बदलेर दाहाल र नेपाल आफ्नै सहकर्मीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आएर ‘हामी यहाँ छौं’ भनिरहेका छन् । सायद उनीहरूले पार्टी एकतापछि आफूहरू कहाँ छौं भन्ने भेउ पाउनै सकेका थिएनन् ।

२०४६ यता फरक–फरक पार्टीको एउटै अध्यक्षका रूपमा अविच्छिन्न नेतृत्व गरेका पुष्पकमल दाहालले पछिल्लो ३ वर्षमा सम्भवतः सबैभन्दा धेरै नेकपाका अध्यक्ष ओलीसँगै बातचित गरे । बितेका ४९ वर्ष ओलीको संगतमा रहेका नेपाल पार्टी एकतायता ओलीबाटै सबैभन्दा धेरै किनारामा पारिए । उनै ओलीको पेलानमा परेपछि दाहाल र नेपालबीचको आत्मीयता झन्–झन् मौलाउँदै गएको हो । उसो त १५ वर्षसम्म तत्कालीन एमालेको महासचिव हुँदा नेपालबाट ओली पक्ष छेउ लागेका उदाहरण पनि बग्रेल्ती छन् ।

अध्यक्षको समान हैसियतमा बसेर शुक्रबार पहिलो पटक पत्रकार सम्मेलनमा प्रकट भएका यी दुई नेताको अहम् गुनासो नेकपाकै अर्को समूह सम्हालेका ओलीप्रति थियो । दाहाल र नेपालले अहिले जसरी काँधमा काँध मिलाएर हिँडेका छन्, उनीहरूको सम्बन्ध पहिलेदेखि नै त्यस्तै थियो त रु अहँ थिएन । त्यसका लागि उनीहरूको पञ्चायतकालीन मित्रतादेखि गत प्रतिनिधिसभा चुनावसम्मका उतारचढावको सम्झना गरौं ।

कान्तिपुरसँग पोहोर मंसिरमा अन्तर्वार्ताका क्रममा दाहालले भनेअनुसार दाहाल र नेपालको भेट २०४०र४१ सालतिर भएको हो । त्यतिखेर पञ्चायतकै विरुद्ध भूमिगत भए पनि यी दुई नेताको आन्दोलन फरक थियो, लक्ष्य एउटै । त्यो बेला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गराउने बारम्बारको वार्ता भने असफल भयो । २०४६ सालपछि दाहाल जनमोर्चा र नेपाल एमालेको राजनीतिमा लागे ।

२०५२ मा दाहालले सशस्त्र संघर्ष सुरुवात गर्दा नेपाल तत्कालीन एमालेको महासचिव बनेको दुई वर्ष पुगिसकेको थियो । त्यतिखेर दाहालको माओवादीले नेपालले नेतृत्व गरेको एमालेलाई संशोधनवादीको संज्ञा दिएको थियो भने माओवादी संघर्षलाई एमालेले आतंकवाद भनेर परिभाषित गरेको थियो । त्यसैले तत्कालीन माओवादीले संघर्ष थालेको पाँच वर्षसम्म दाहाल र नेपालबीचको संवाद टुट्यो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस