काठमाडौँ । करिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगर गाउँपालिकाका ७० वर्षीय गगनदेव अझै आन्दोलनमै छन् । आन्दोलन गरेपछि उखुको पैसा पाइएला र त्यसमै थपथाप गरेर बैंकको कर्जा तिरुँला भन्ने सोचेका गगनदेव राय यादव त्यतिबेला झसंग भए, जतिबेला उनलाई बैंकले २१ दिनभित्र कर्जा नतिरे धितो लिलाम गरिदिने सूचना निकालेको खबर मिल्यो ।
केही वर्षअघिसम्म गगनदेवले आफ्नो एक बिघा र बटैयामा लिएको २ बिघा जमिनमा उखु खेती गर्थे । त्यहीबेला उनले खेती गर्न र घरखर्च टार्न गाउँकै महाजनबाट ३६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँ कर्जा लिएका थिए । गाउँले ब्याज महँगो हुने भएपछि उनले १६ कट्ठा जमिन धितो राखेर कृषि विकास बैंकबाट ९ लाख ५५ हजार रुपैयाँ कर्जा लिए । बारीको उखु बेच्ने भएपछि जिल्लाकै अन्नपूर्ण सुगर मिल्समा लगेर बेचे । ‘गाउँका टाठाबाठाले लगेर बेचिदिए, छिटो पैसा पाइन्छ भन्ने सुनेपछि छिमेकी राजमोहन राय र ज्वाइँ रामबाबु रायको नाम राखेर अन्नपूर्णलाई उखु बेचें तर पैसा अहिलेसम्म पाइनँ,’ उनले भने ।
साँवा अक्षर नचिन्ने गगनदेवलाई उखु कति क्विन्टल थियो भन्ने यकिन हिसाब याद छैन । तर उनले करिब ३ लाख रुपैयाँ चिनी मिलबाट पाउन बाँकी रहेको दाबी गरे । बैंकबाट लिएको कर्जाको ब्याज ६६ हजार रुपैयाँ पुगिसकेकाले अहिले उनले १० लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । उखुपीडित किसान संघर्ष समितिका हरिश्याम रायका अनुसार बैंकको धितोको सूचना हात परेपछि गगनदेवको आँखाबाट आँसु रोकिएको छैन ।
हरिश्यामले भने, ‘उखुको पैसा बेलैमा पाएको भए उतिबेलै कर्जा सदाइसक्ने उनको हिसाब थियो । तर मिल मालिकले पैसा नदिँदा आफ्नो हालत बिग्रिएकोमा उनको चिन्ता छ ।’ चाररपाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीहरूलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र पश्चिम नवलपरासीका उखु किसानहरू आन्दोलित छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० पुस २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
उखु किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड बजेट विनियोजन
महोत्तरीका किसानले पाए उखुको भुक्तानी