अविश्‍वासको प्रस्ताव दर्ता समय १०ः३० कि ३ः३० ?

पत्रपत्रिकाबाट

विहीबार, ०९ पुस २०७७, ०८ : ००
अविश्‍वासको प्रस्ताव दर्ता समय १०ः३० कि ३ः३० ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दिन पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रतिनिधिसभामा अविश्वास प्रस्तावसमेत दर्ता गरेको थियो । उक्त प्रस्ताव दर्ताको समयलाई लिएर अहिले विवाद सुरु भएको छ । प्रस्ताव दर्ताको समय बिहान साढे १० बजे कि अपराह्न साढे ३ बजे भन्नेमा परस्पर विरोधी दाबी आएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दा र आफूनिकट केन्द्रीय सदस्यहरूको भेलामा आफूविरुद्ध दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव अघि सारेकै कारण संसद् विघटन गर्नुपरेको बताएका थिए । पुस ५ ९आइतबार० साढे १० बजे बिहान अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपाकी नेतृ पम्फा भुसालले बताइन् । संसद् सचिवालयले भने बुधबार विज्ञप्ति नै जारी गरी दिउँसो साढे ३ बजे मात्रै दर्ता भएको जानकारी गराएको छ ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रस्ताव दर्ता साढे १० कि साढे ३ बजे भन्ने विवाद भएपछि सचिवालयले प्रस्ताव दर्ता भएको समयको बारेमा विज्ञप्ति नै जारी गर्नुपरेको भनेका छन् । ‘सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको दर्ता समयलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका समाचारको सम्बन्धमा ध्यानाकर्षण भएको छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय सभामुखको तोक आदेश भएपछि आइतबार साढे तीन बजे कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता भएको बेहोरा जानकारी गराइन्छ ।’

अविश्वासको प्रस्ताव सभामुखसमक्ष पेस गरी कार्यव्यवस्था शाखामा दर्ता हुने प्रचलन रहेको सचिवालयले जनाएको छ । पम्फा भुसालसहितको टोलीले भने सचिवालयको मूल दर्तामा प्रस्ताव दर्ता गरेको अभिलेखमा देखिन्छ । ‘१० बजे नै दर्ता गर्ने योजना थियो तर भ्याइएन । साढे १० बजे सचिवालयमा एक प्रति दर्ता गरेर अर्को प्रति सभामुखज्यूलाई पनि बुझाएका थियौं । अहिले त कर्मचारीले गडबडी गरेको सुनिराछु,’ उनले भनिन् ।

सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव आइतबार साढे ३ बजे सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । जुन प्रस्तावमा ९० जना सांसदको हस्ताक्षर थियो । दर्ता गरिएको पत्रमा सभामुख अग्निप्रसाद सापकोटाले हस्ताक्षर गरेका थिए । प्रस्ताव दर्ता भएको पुष्टि गर्न सञ्चारकर्मीले सचिवालयका प्रवक्तासँग प्रतिक्रिया लिएका थिए । यस क्रममा पाण्डेले भनेका थिए, ‘विघटन भएको खबर पाउनुभन्दा अघि नै सचिवालयमा अविश्वासको प्रस्ताव भएको छ । त्यसमा ९० जनाको हस्ताक्षर छ ।’

तर त्यही दिन अपराह्न नै उनले बोली फेर्दै साढे ३ बजे मात्रै दर्ता भएको बताएका थिए । ‘सुरुमा मलाई आएको जानकारी गलत रहेछ,’ उनले भने, ‘ढड्डामा जुन अभिलेख हुन्छ, त्यहाँ हेर्दा साढे ३ बजे दर्ता भएको देखियो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस