मध्यावधि निर्वाचनको घोषणाले चिनियाँ विज्ञहरु चिन्तित

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १८ : २९
मध्यावधि निर्वाचनको घोषणाले चिनियाँ विज्ञहरु चिन्तित

काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि कु गरी संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाप्रति चिनियाँ विज्ञहरुले चिन्ता प्रकट गरेका छन् ।

बेइजिङको बलियो समर्थन प्राप्त भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हठात संसद विघटन गरेर वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि अब नेपाल दुई दशक अगाडिकै जस्तो राजनीतिक दुस्चक्रमा फस्ने चिनियाँ विज्ञहरूले बताएका हुन् ।

पेकिङ विश्वविद्यालयकी अन्तर्राष्ट्रिय मामिला विज्ञ प्रोफेसर हान ह्वाले विगत दुई वर्षमा कुनै राजनीतिक अवरोध नभएकाले नेपालको आर्थिक वृद्धि राम्रो भएको र विदेशी लगानी पनि प्रचुर रुपमा बढेको स्मरण गर्दै संसद विघटन गर्ने घटनाले विकासलाई पछाडि धकेल्ने बताइन्।

चीनको राज्यपरिषद अन्तर्गतको थिङ्क ट्याङ्क चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था ९सीआईसीआईआर० को एसिया तथा ओसियानिक विभागका निर्देशक प्रोफेसर हु सिसेङले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबाट नेपालमा देखिएको नयाँ संकटले आफू एकदमै निरास भएको बताए ।

चीनको सिचुवान प्रान्तस्थित सिचुवान अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालमा स्थापित छन्दू इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्स अर्थात छन्दु विश्व सम्बन्ध संस्थाका अध्यक्ष डा लोङ सिङछुनले ‘नेपालका नेताहरुले आफ्नै खुट्टामा बन्चरो हानेको’ प्रतिक्रिया दिए।

चीन र दक्षिण एसिया सम्बन्ध तथा राजनीतिक मामिलामा अनुसन्धान गर्दै आएका डा लोङ चीनका लागि नेपाल, भारत र श्रीलंका विज्ञका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस