कर्मचारी युनियन (संघ)को एकता महाधिवेशन चितवनमा

विहीबार, ०१ चैत्र २०७४, १५ : ११
कर्मचारी युनियन (संघ)को एकता महाधिवेशन चितवनमा

चितवन । नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौँ केन्द्रीय महाधिवेशन रत्ननगरको टाँडीमा आइतबारदेखि हुने भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संघको एकतापछिको पहिलो महाधिवेशन भएकाले यसले नयाँ नेतृत्वसँगै नाम पनि तय गर्नेछ ।

युनियन (संघ)को महाधिवेशन तयारी समितिको प्रचार समितिका संयोजक जितबहादुर मदैका अनुसार महाधिवेशनमा ६०० प्रतिनिधि र ४०० पर्यवेक्षक सहभागी हुनेछन् । उनीहरुका लागि रत्ननगर र सौराहामा बसोबासको व्यवस्था मिलाइएको छ ।

युनियन (संघ)का चितवनका अध्यक्ष कृष्ण पराजुलीका अनुसार तीन दिनसम्म चल्ने महाधिवेशन एकताको महाधिवेशन हुनेछ । युनियन (संघ)को ७७ जिल्ला समिति, मन्त्रालय र विभाग गरी ४१ विभागीय कार्यसमिति रहेको छ भने ३५ हजार सदस्य रहेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ)का पूर्व वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेलले कार्यक्रमको उद्घाटनसत्रमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस