नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

विहीबार, ०१ चैत्र २०७४, १२ : ०४
नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाक्टर बाबुराम भट्टराईलाई गल्ती सच्याउदै पार्टीमा फर्कन आग्रह गरेका छन् ।

विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

भट्टराईलाई पटक–पटक आफ्नो पार्टीमा जोडिन आउनुपर्छ भन्दै आएको स्मरण गर्दे प्रचण्डले आफ्नो आग्रहलाई नमानेर भट्टराईले धेरै ठुलो गल्ती गरेको दाबी गरे ।

फेरी पनि गल्ती सच्याउदै पार्टीमा नफर्के स्वर्गमा पनि भट्टराईले बास नपाउने टिप्पणी प्रचण्डको थियो  । उनले भने, “हाम्रो त भनाई बाबुरामजीहरु समेत यही जोडिन आइपुग्नु पर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन । मैले त उतिबेलै भनेको हो । भनेको भने छु बाबुराम जीलाई । गल्ती गर्नुभएको छ तपाईले । ब्लन्डर गर्नुभएको छ । धेरै ठूलो भुल गर्नुभएको छ । यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसंँ जान पाईन्छ । नत्र पोलेको पोल्यै हुन्छ उहाँलाई । दुख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हामीलाई । ”

अध्यक्ष दाहालले विगतमा माओवादी, कम्युनिष्ट आन्दोलन र क्रान्तिका लागि काम गरेकाहरु एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै फुटेर गएको विप्लव समूहलाई पनि पार्टीमा फर्कन आव्हान गरे । जनताको आर्थिक विकास र सम्वृद्धिको चाहाना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वामगठबन्धनको पक्षमा आफु उभिएको उल्लेख गर्दै उनले पार्टी एकतापछि मुलुकमा विकास र सम्वृद्धिको अभियान चाल्न सजिलो हुने बताए ।  

गोर्खामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुर्नमिलनको संज्ञा दिदै अध्यक्ष दाहालले यसपछि गोर्खा फेरी पनि कम्युनिष्ट किल्लाकै रुपमा कायम रहने विश्वास व्यक्त गरे ।

लक्ष्मण गुरुङ्ग, मिन बहादुर सुनार, इन्द्रप्रसाद गुरुङ्ग लगायत १९ जना कार्यकर्ता विहिबार पुनः माओवादी केन्द्रमा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस