स्थिर सरकारले मात्र विकास र समृद्धिको अभियानलाई द्रुतगतिमा अगाडि बढाउन सक्छ : मन्त्री नेम्बाङ्ग

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १० : ४६
स्थिर सरकारले मात्र विकास र समृद्धिको अभियानलाई द्रुतगतिमा अगाडि बढाउन सक्छ : मन्त्री नेम्बाङ्ग

फाइल तस्विर

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेबाङ्ग र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले हुलाकी राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–लगडी गदियानी सडक खण्ड कालोपत्रे निर्माणको शिलान्यास गरेका छन् । उनीहरुले सोमबार संयुक्त रुपमा शिलालेख अनावरण गरेर उक्त खण्डको शिलान्यास गरेका हुन् । 

पूर्वको झापादेखि सुदुरपश्चिम कञ्चनपुरसम्म जोड्ने हुलाकी राजमार्गको यस खण्ड शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेबाङ्गले स्थिर सरकारले मात्र विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने बताए । उनले भने, ‘नेपालमा विकास निर्माणको महाअभियान सुरु भइसकेको छ । त्यसको नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको छ । यस्तो अभियान पुरा गर्न स्थिर सरकारले मात्र सक्छ । स्थिर राजनीतिले मात्र सक्छ । जुनकुरा अहिले हामीले मुलुकमा प्राप्त गरेका छौ ।’ 

मन्त्री नेम्बाङ्गले सरकार भौतिक पूर्वाधार निर्माणका नयाँ क्षेत्र र ठूलाठूला विकास निर्माणका आयोजना तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुका निर्माण कार्य थालनी गरिएको र यस्ता कार्यले मुलुकको अर्थतन्त्र चलायमान हुनका साथै आर्थिक उन्नति र वृद्धि भइ समृद्ध राष्ट्र निर्माण गर्न टेवा पुग्ने बताए ।

उनले आपसी असमझदारीले अस्थिरता पैदा भयो भने सुरु भएको विकासको महाअभियानमा अवरोध हुने, समाजवादसम्म पुग्न नसकिने बताए । उनले भने, ‘समृद राष्ट्र सुखी नेपाली’ नारालाई पुरा गर्न स्थिर सरकार चाहिन्छ । कथम कदाचीत बाटो विरायाँै भने अस्थिरता  पैदा हुन्छ । अस्थिर राजनीति र सरकारले देशलाई समृद्धितिर डोर्याउन सक्दैन । त्यसो भएका हुनाले खबरदारी गर्ने हक तपाई माया गर्ने जनसमुदायले राख्नु भएको छ ।’

मन्त्री नेम्बाङ्गले बर्तमान सरकारले दुई नम्बर प्रदेशलाई अत्यन्तै महत्वका साथ हेरेको भन्दै त्यहि भएर विकासका ठूलाठूला परियोजनाहरु तराई मधेसमा सञ्चालन गरिएको बताए । 

पूर्वपश्चिम राजमार्गको  चार लेन कालोपत्रे स्तर उन्नति यहि ठाउँ कमला–कञ्चनपुर खण्डको निर्माण कार्य थालनी भइसकेको छ । पूर्वपशिचम उत्तरदक्षिण जोड्ने हुलाकी राजमार्गको निर्माण कार्य तीव्र ढंगले थालनी भइरहेको र आ.ब ०७८÷७९मा सम्पन्न हुदैछ । विरगन्ज–पथलैया–जटही जनकपुर ढल्लेबर जस्ता ६ लेनका कालोपत्रे बाटाहरु सम्पन्न हदैछन् । पूर्वपश्चिम विद्युतिय रेलमार्गको बर्दिवास–नीजगढ खण्डको निर्माण कार्य सुरु भइसकेको छ । 

इनरुवा–बर्दिवास खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भई निर्माण पूर्वका प्रारम्भिक कार्यको थालनी भइसकेको छ । जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको निर्माण कार्य धमाधम भइरहेको छ । उक्त ठाउँमा रेल सञ्चालन गर्न दुई वटा रेल ल्याइसकिएको छ । केही महिना भित्र सञ्चालन हुदैछ । 

उनले प्रश्न गरे, ‘के यो विकास निर्माण कार्य दुई नम्बर प्रदेशका लागि गरेको होइन र  ?’ यो सरकारले केही गरेन भन्ने भ्रमको खेती गर्नेहरुलाई यहि कुरा फर्केर हेरे प्रयाप्त हुने उल्लेख गर्दै उनले भने, ‘सरकारमाथी प्रश्न उठाउनु भनेको अस्थिरता ल्याउनु हो । अस्थिर राजनीतिले विकास निर्माणको गतिमा अवरोध पुर्याउँदछ ।’
 
उनले संघीता कार्यान्वयनसंगै भएको पहिलो निर्वाचनमा आमनेपाली जनतासामु दुई वटा ठूला कम्युनिष्ट पार्टीलाई एकिकरण गर्ने घोषणा र बहुमत प्राप्त गरेमा सरकार मार्फत समाजवाद उन्मुख नीति कार्यक्रम लागु गर्ने जनता सामु प्रण गरिएकाले नै जनताले विश्वास गरेको उल्लेख गरे । उनले भने, ‘त्यहि विश्वासको आधारमा आम नेपाली जनताले पूर्ण बहुमत दिनु भएको हो ।’

उनले स्थिरताले मात्र विकास र समृद्धि सम्भव हुने भएकाले यो पाँच बर्षे स्थिर सरकारले पूर्णता पाउनु पर्ने बताए । उनले भने, ‘त्यो पाँच बर्षे स्थिर सरकार तेस्रो बर्षमा प्रवेश गरेको छ । यसले पूर्णता पाउँनुपर्छ । जनतालाई गरेको प्रतिवद्धा पुरा गरिनुपर्छ ।’ उनले दुई ठुला कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रियाले पूर्णता पाउनु पर्ने जनताको भावनालाई नेताहरुले आत्मसाथ गर्ने समेत विश्वास दिलाए । 

मन्त्री श्रेष्ठले गरिब सुकुम्बासी जनताको विकासका लागि सरकारले काम गरिरहेको बताए । उनले भने,  ‘सुरक्षित नागरिक आवस जस्ता कार्यक्रम सिमान्तकृत जनतालाई लक्ष्यित गरि ल्याएको हो ।’

प्रतिक्रिया दिनुहोस