नागढुंगा–नौबिसे –मुग्लिन सडकमा नतिजा देखिने गरी काम गर्न निर्देशन

सफल खबर संवाददाता

बुधबार, १७ पुस २०८१, १६ : ०२
नागढुंगा–नौबिसे –मुग्लिन सडकमा नतिजा देखिने गरी काम गर्न निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा नौबिसे मुग्लिन सडक निर्माणको नतिजा देखाउन निर्देशन दिएका छन् ।

निर्माणाधीन सडकको बुधबार स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरुलाई सो निर्देशन दिएका हुन् । निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्ने भन्दै उनले अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने समेत चेतावनी समेत दिए।

नागढुङ्गा–नौबिसे –मुग्लिन, नौबिसे –मलेखु तथा मलेखु–मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रूपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए।

निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।

कुनै पनि बहाना र कारणले निर्माणमा ढिला सुस्ती नगर्न भन्दै उहाँले कामको परिणाम देखिने गरी निर्माणमा द्रुतता दिन आग्रह गरे । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरी सकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको जनाए ।

मन्त्री दाहाल एवम् मन्त्रालयका अधिकारीहरूसँग निर्माण कम्पनीका प्रतिनिधिहरुले यस अघि निर्माण सामाग्री जुटाउन देखिएको समस्या मन्त्रीकै अग्रसरतामा भएको पहल पछि समाधान भएको बताएका थिए । उनीहरूले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्य प्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस