काठमाडौँ । आफूले पाउनुपर्ने उखुको भुक्तानी माग्दै उखु किसानले आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् । उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएका उनीहरूले सोमबार पनि आन्दोलनलाई निरन्तरता दिए ।
गत पुसमा सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले दोस्रो पटक आन्दोलन गरिरहेका छन् । आन्दोलनरत किसानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्तामा बोलाए पनि उनीहरूले स्विकारेनन् । सरकारसँग उधारो सहमति गर्न नसकिने भन्दै उनीहरूले सोमबारको वार्ता स्विकारेनन् ।
‘मन्त्रालयले सोमबार वार्ताको प्रस्ताव गरेको थियो । डेढ बजे छलफल गर्न बोलाएका थिए,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘वार्ताको कुनै औचित्य छैन । वार्ता र सहमति गत वर्ष नै भयो, लिखित सम्झौता भयो तर कार्यान्वयन भएन । अब मन्त्रालयमा वार्ता हुँदैन, उद्योगी वा सरकार पैसा लिएरै माइतीघर आउनुपर्छ । किसानको माग त्यही हो ।’
किसानका समस्याबारे सरकार उदासीन भएकाले वार्ताको कुनै औचित्य नभएको उनको भनाइ छ । सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन गरे किसानको आन्दोलन रोकिने उनले बताए । निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।
‘यो अन्तिम लडाइँ हो, किसानले भुक्तानी नपाएसम्म आन्दोलन रोकिन्न,’ उनले भने । सर्लाहीका उखु किसानले माइतीघरमा दिउँसोको ११ देखि बेलुका ३ बजेसम्म आन्दोलन गरिरहेका छन् । आन्दोलनरत किसानलाई साथ दिन सोमबार थप किसान उपत्यका आएका हुन् । मंगलबार नवलपरासीबाट पनि किसान आउने कार्यक्रम रहेको सचिव रायले जानकारी दिए ।
किसान आन्दोलनमै उत्रिएपछि सोमबार मन्त्रालयले उद्योगीहरूसँग पनि छलफल गरेको थियो । त्यस क्रममा उद्योगीहरूले भुक्तानी गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए । ‘किसानलाई भुक्तानी गर्छु भनेर प्रतिबद्धता गरे पनि गरेका छन्, के कारणले भुक्तानी हुन सकेन भनेर छलफल गरेका थियौं,’ उनले भने, ‘उद्योगीहरूले केही किसानलाई दिएका छन्, केहीलाई दिने क्रममा छन्, बाँकीलाई छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन् ।’
उनका अनुसार सोमबारको छलफलमा श्रीराम, इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक सहभागी थिए । लुम्बिनी चिनी उद्योगबाट भने कोही थिएनन् । छिट्टै भुक्तानी नगरे कारबाही गर्ने उद्योगीलाई बताएको उनले सुनाए । मन्त्रालयले कारबाही गर्ने बताए पनि कार्यान्वयन भने गरेको छैन । करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता उखु किसान निरन्तर आन्दोलित छन् । यसबीचमा केही उद्योगीले भुक्तानी गरे पनि आधा दर्जनले अझै पूरा भुक्तानी गरेका छैनन् । भुक्तानी नगर्ने उद्योगीलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० मंसिर २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
उखु किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड बजेट विनियोजन
महोत्तरीका किसानले पाए उखुको भुक्तानी