ओली नेतृत्वको सरकार भ्रष्टाचार र अधिनायकवादको चंगुलमा फस्दै गयो : कांग्रेस नेता महत

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, १६ : १०
ओली नेतृत्वको सरकार भ्रष्टाचार र अधिनायकवादको चंगुलमा फस्दै गयो : कांग्रेस नेता महत

चितवन । नेपाली कांग्रेसका केन्द्रीय नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले वर्तमान नेकपाको केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र अधिनायकवादको चंगुलमा फस्दै गइरहेको आरोप लगाएका छन् । आज चितवनमा भएको नेपाली कांग्रेसको शक्ति प्रदर्शनमा प्रमुख अतिथि रहेका नेता महतले ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ लम्किरहेको आरोप लगाए । 

चितवनको नारायणगढस्थित पुल्चोकमा भएको आमसभामा नेता महतले कांग्रेसको सरकारको पालामा अमरिकी सरकारसँग सम्झौता गरेको एमसिसी पारित गर्नुपर्ने बताए । उनले भने, ‘ओली सरकार एमसिसी पारित गर्नुपर्नेमा देखिन्छ, तर त्यही पार्टीका अरु गुटउपगुटले पारित गर्न दिएका छैनन् । कांग्रेसको सरकारको पालामा आएको एमसिसी पारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ कम्युनिष्टको आन्तरिक झगडाले एमसिसी पारित नभएको उनले बताए । 

उनले एमसीसी पास भए अमेरीकी सेना आउँछ भन्नु सरासर झुट प्रचार गरिएको बताए । उनले भने, ‘यस्तो झुटको खेती गरेर कांग्रेसको सरकारकै पालामा आएको एमसिसी पारित गर्न खोजिएको छैन । एमसिसीबाट विद्युत लाइन विस्तार र सडकका लागि ५० करोड डलर सहायता आउन लागेको उनको भनाइ छ । 

नेता महतले अहिले सरकारले ल्याएको मदन भण्डारी राजमार्ग, पुष्पलाल मार्ग लगायतका सबै सडकका योजनाहरु कांग्रेस सरकारको पालामै ल्याइएको दावी गरे । उनले भने, ‘यी योजनाहरु कांग्रेसको सरकारले ल्याएको हो, तर कम्युनिष्ट सरकारले भटाभट आफ्नो नेताको नाम भट्टाउँदै आफूले ल्याएको बताए, यो सरासर झूट हो ।’ उनले चीनसँग पनि सीमा विवाद भएको त्यहाँका स्थानीयले बताइरहँदा सरकार चीनसँग कुनै विवाद छैन भनिरहेको बताए । उनले भने, ‘भारतसँग होस्, वा चीनसँग होस् वार्ता गरेर समस्या समाधान गर्नुपर्छ ।’

उनले अहिलेको कम्युनिष्ट सरकार कोरोनाको यो महामारीमा पनि भ्रष्टाचार गरिरहेका बताए । नेता महतले आगामी निर्वाचनबाट कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनसमेत आग्रह गरेका थिए । उनले भनेका थिए, ‘विगतमा कांग्रेसले पनि केही गल्ती गरेकै हो, फेरि गल्ती हुँदैन, एकपटक फेरि कांग्रेसको सरकार हेर्नूहोस् ।’ कांग्रेसले पुल्चोकमा आमसभा गर्नुअघि चौबिसकोठीबाट -याली निकालेर शक्ति प्रदर्शन गरेको थियो । 


 

प्रतिक्रिया दिनुहोस