राजीनामा दिइसकेका पाइलटले उडाएर ल्याएका थिए काठमाडौंमा दुर्घटनामा परेको विमान !

विहीबार, ०१ चैत्र २०७४, ०९ : ००
राजीनामा दिइसकेका पाइलटले उडाएर ल्याएका थिए काठमाडौंमा दुर्घटनामा परेको विमान !

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको युएस–बाङ्ला एयरलाइन्सका दिवंगत पाइलटले नेपाल उड्नुअघि आफ्नो राजीनामाको पत्र उक्त एयरलाइन्सका अधिकारीलाई ईमेल गरेको थाहा भएको छ ।

बङलादेशबाट प्रकाशित हुने बाङ्ला पत्रिका प्रोथोम आलोमा प्रकाशित समाचारका अनुसार पाइलट अविद सुल्तानको राजीनामा स्विकृत भने भएको थिएन । सो पत्रिकालाई युएस–बाङ्ला एयरलाइन्सका जनसम्पर्क महानिर्देशक कमरुल इस्लामले बताएअनुसार राजीनामा दिएको विषयमा थाहा नभएपनि पाइलटलाई प्लेन उडाउन कुनै जबर्जस्ती थिएन भनेर बताएका छन् ।

अविदभन्दा वरिष्ठ उक्त एयरलाइन्सका एक अधिकारीले दुई महिनाअघि राजीनामा दिएर ईथियोपियन एयरलाइन्स प्रवेश गरेका थिए । सो अधिकारी अविदसँग निकै निकट सम्बन्धमा रहेको कारण उनलाई पनि इथियोपियन एयरलाइन्समा जागीर मिलाई दिएका थिए ।

युएस–बाङ्ला एयरमा जागीर खानु अघि अविदले सेनामा २० वर्ष जागीर खाएका थिए ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले विमानमा कुनै समस्या छ भनेर सोध्दा पाइलट अबिदले कुनै समस्या नरहेको बताइरहेका थिए । विमानले सही बाटो नलिएको देखेपछि पुनः एटीसीले सोध्दा पनि अबिदले सबै ठिक रहेको बताइरहेको अडियो पनि सार्वजनिक भएको छ ।

अबिदले विमानमा समस्या नरहेको बताउनु, उनले भनेतिरबाट रनवे खाली गरिदिएपछि पनि विमान दुर्घटना हुनुलाई धेरैले आश्यर्च मानेका छन् । सरकारले तत्काल छानबिन समिति गठन गरिसकेको छ । समितिले काम पनि सुरु गरिसकेको छ ।

“अविदले आफ्नो फ्लाइटभन्दा पहिला नै राजीनामा पत्र यूएस–बांङ्लाका पदाधिकारीहरुलाई पठाएका हुन्,” उनका एक सहकर्मी प्रोथम अलोलाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको छ ।

यूएस बांङ्लाका महाप्रवन्धक कामरुल इस्लाम प्रोथोम अलोले भने विमान चालकहरुको राजीनामा बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् ।  

अविदका सहकर्मीले भने उनका उच्चअधिकारीहरुले दुई महिना अघिमात्रै जागिरबाट राजीनामा दिएर इथोपिया एयरलाइन्समा जागिर खान सुरु गरेका थिए । अबिदका नजिकका सहकर्मीहरुले भनेका छन्, “राजीनामा दिइसकेपछि उनलाई विमान उडान गर्न लगाउनु स्वभाविक थिएन । राजीनामा दिइसकेपछि पाइलटलाई विमान चलाउन दिन मिल्दैन ।”

अविद सुल्तानले २०१५ मे ६देखि  यूएस बाङ्लामा विमान चालकको रुपमा काम गर्न थालेका थिए । उनी प्रशिक्षक समेत थिए । अविद वंगलादेश एयर फोर्समा १९८४ देखि संग्लग्न थिए ।

यता नेपाली अधिकारीहरुले भने यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् । “यसबारे हामीलाई केही पनि जानकारी छैन । छानविन समितिले खास कुरा के हो र दुर्घटनाका कारण पत्ता लगाउँछ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, “राजीनामाको विषयमा हामीलाई थाहा छैन तर क्यानडाबाट १६ घण्टा विमान उडाएर नेपाल आएकाले स्ट्रेसमा हुनुहुन्थ्यो भन्ने सुनिएको हो ।”

प्रतिक्रिया दिनुहोस