कोरम नपुगेपछि संवैधानिक परिषदको बैठक मंगलबारसम्मका लागि स्थगित

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, १३ : २२
कोरम नपुगेपछि संवैधानिक परिषदको बैठक मंगलबारसम्मका लागि स्थगित

फाइल तस्विर

काठमाडौँ । बैठकका लागि आवश्यक गणपुरक संख्ण (कोरम) नपुगेपछि संवैधानिक परिषद्को बैठक मंसिर ३० गतेसम्मका लागि स्थगित भएको छ । 

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठकमा प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएसँगै कोरम नपुगेर बैठक स्थगित गरिएको हो । 

देउवाले आजको बैठकमा आफू सहभागी हुन नसक्ने यसअघि नै सन्देश पठाइसकेका थिए । काँग्रेसले २९ मंसिरमा ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले बोलाएको परिषद्को बैठकमा नजान पार्टीका नेताहरुबाट दबाब आएपछि देउवाले यस्तो सन्देश पठाएको बताइएको छ । 

संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अधिकार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्लाई हुन्छ ।

संवैधानिक  आयोगहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।

यस्तै समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, मधेसी आयोगमा  ४ आयुक्त, थारू आयोगमा  ४ आयुक्त र मुस्लिम आयोगमा ४ आयुक्तको नियुक्ति हुन बाँकी छ । अब ३० गते मंगलबार बिहान ९ बजे बस्ने बैठकमा नियुक्तिका बारेमा सहमति जुटाउने प्रयास हुनेछ । 

प्रतिक्रिया दिनुहोस