सुक्खा बन्दरगाह निर्माण तीव्र

पत्रपत्रिकाबाट

आइतबार, २८ मंसिर २०७७, ०८ : ३६
सुक्खा बन्दरगाह निर्माण तीव्र

काठमाडौँ । आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहण लगायतका समस्या समाधानसँगै बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को निर्माण कार्यले गति लिएको सो आयोजनाले जनाएको छ ।

सुक्खा बन्दरगाह निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराउँदै आयोजना प्रमुख युवक डङ्गोलले सन् २०२१ अप्रिलसम्म निर्माण सम्पन्न भई काठमाडौँमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसक्नेछ भन्नुभयो । उहाँका अनुसार अहिले बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । कुल एक अर्ब ६६ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत रहेको छ ।

विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो । सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास भए पनि जग्गा अधिग्रहण, कानुुनी झन्झट तथा स्थानीयवासीको अवरोधका कारण केही समय ढिलो भएको हो । अवरोध, कोरोना महामारीले भएको बन्दाबन्दीका कारण निर्माण सम्पन्न गर्ने म्याद छ÷छ महिना गरी दुईपटक थप गर्नुपरेको उहाँले बताउनुभयो । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने योजना सरकारको छ ।

मुलुकको व्यापार प्र्रवद्र्धन गर्न अहिले ‘लजेस्टिक’ व्यवस्थापन समस्या रहेकाले समाधान गर्न चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण कार्य तीव्र पारेको उहाँले बताउनुभयो । स्थानीयवासीको सहयोग र समर्थनमा नै बन्दरगाह निर्माण कार्य तीव्र बनाइएको उहाँले स्पष्ट पार्नुभयो । अब स्थानीय नागरिकबाट कुनै किसिमको अवरोध वा गुनासो नरहेको उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस