सहकार्यका लागि प्रचण्डलाई प्रधानमन्त्री ओलीको शर्त

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, ०७ : ३७
सहकार्यका लागि प्रचण्डलाई प्रधानमन्त्री ओलीको शर्त

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र भत्काउनेभन्दा सबै समस्याको समाधान जारी स्थायी कमिटी बैठकबाट खोज्नुपर्ने अडान राखेका छन् ।

दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि स्थायी कमिटी बैठक एक साता स्थगित भएकै बेला नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बुधबार भेटवार्ता भएको थियो । यही भेटमा ओलीले नेपालसँगको सहकार्य तोड्न दाहालसँग आग्रह गरेका हुन् । नेकपा विवाद झन्डै बहुमत–अल्पमतमा प्रवेश गरिसकेको अवस्थामा ओलीले दाहाल–नेपाल समीकरण भत्काउने प्रयासस्वरुप सहकार्यको प्रस्ताव अगाडि सारेको नेकपाका नेताहरुले विश्लेषण गरेका छन् ।

नेकपा सचिवालयका एक सदस्यले बताएअनुसार भेटमा ओलीले नेपालसँग आफूले लामो समय संगत गरेको र उनको बेलाबेलामा धोकाको राजनीति गरेको भन्दै आफूसँग सहकार्यका लागि दाहालसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा दाहालले आफूले नेपालसँग लामो समयदेखि सहकार्य गरेको र धोकाको सम्भावना नरहेको जवाफ फर्काएका थिए । यसअघि ओलीले नेपालसँगको भेटमा पटक–पटक सहकार्यको प्रस्ताव गरेका थिए । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । ओलीनिकट नेताहरुले दाहाल नेपालसहितको घेराबन्दीमा परेको भन्दै स्वतन्त्र भएर निर्णय लिनुपर्ने बताउँदै आएका छन् ।

बुधबारको भेटमा पनि ओलीले दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, दाहालले पार्टी कमिटीमा छलफलमा गइसकेको प्रस्तावको टुंगो त्यहीँबाट लाग्ने बताएको उनी निकट नेताले बताए । दाहालले छलफलमा गएका प्रस्ताव स्थायी कमिटीबाट टुंगिने बताएको ती नेताले जानकारी दिए ।

दुई नेताबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भए पनि विवाद समाधानमा केही प्रगति नभएको उनीहरु निकटले बताएका छन् । दाहालको सचिवालयले पनि दुई अध्यक्षबीचको छलफलमा केही प्रगति नभएको बताएको छ । ‘स्थायी कमिटीले अनौपचारिक छलफल गरेर संकट समाधानमा कोसिस गर्ने भनेअनुसार दुई अध्यक्षबीच छलफल भएको हो । तर, दुवै आ–आफ्नो अडान रहेको सूचना पाएका छौं,’ दाहालनिटक एक नेताले भने, ‘उहाँले नेपालसँग सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गर्नुभएको रहेछ तर दाहालले अस्वीकार गर्नुभएछ ।’

यसअघि उनीहरुबीच २६ दिनको अन्तरमा शनिबार (मंसिर २०) सचिवालयको बैठक अगाडि एक्लाएक्लै भेट भएको थियो । त्यसको अघिल्लो रात ओली र दाहालबीच टेलिफोन संवाद भएको थियो । ओली–दाहालबीचका पछिल्ला भेटमा सहमतिभन्दा तनाव बढी भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्नजानु अघि दाहालले निकट नेताहरुसँग परामर्श गरेका थिए । ओलीले आफूनिकट नेताहरुमार्फत् दाहालसँग संवादको प्रयास गर्दै आएका छन् ।

विवाद सचिवालयबाट स्थायी कमिटीमा लगेको दाहाल–नेपाल समूह त्यहीँ ओलीमाथि थप दबाब बनाउने रणनीतिमा छ । यहीबेला बैठक नछाड्न पनि ओलीमाथि दबाब परेको छ । जबकि ओली भने स्थायी कमिटी बैठक पछाडि सार्ने योजनामा छन् । आइतबार ओलीनिकट मानिने महासचिव विष्णु पौडेलकै आग्रहमा दाहाल एक साताका लागि स्थायी कमिटी बैठक सार्न सहमत भएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस