साझा र विवेकशील पार्टीबीच एकता, विगतमा भएको गल्तीप्रति माफी

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १७ : ०४
साझा र विवेकशील पार्टीबीच एकता, विगतमा भएको गल्तीप्रति माफी

काठमाडौँ । विगतमा भएको गल्तीप्रति माफी माग्दै साझा र विवेकशीलबीच फेरि एकता भएको छ । विभाजनको २३ महिना ३३ दिनपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको हो । 

दुई दलका नेताहरुबीच ३१ असारबाट सुरु भएको संवाद र परामर्श २४ मंसिरमा आएर एकीकरणमा परिणत भएको हो ।  साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणसम्बन्त्रधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

०७४ साउनमा साझा र विवेकशीलबीचको एकताबाट विवेकशील साझा जन्मिएको थियो । एकीकरणको १७ महिनामै साझा र विवेकशीलले पुरानै लयमा फर्केका थिए। दोस्रो पटक एकता भएपछि फेरि वैकल्पिक शक्तिका रूपमा उभ्याउने  नेताहरुले दाबी गरेका छन् । साझा पार्टीकी वार्ता समिति संयोजक समीक्षा बाँस्कोटाले विगतमा भएको कमजोरीप्रति माफीसमेत मागेकी थिइन् । उनले अब बलियो शक्तिका रुपमा उठ्ने दावी गरिन् । 

एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा’ प्रस्ताव गरिएको छ । साझा पार्टीका संयोजक मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डेलाई संयोजक बनाइएको छ । कार्यकारी अधिकार दुवैलाई हुनेछ । वरियतामा मिश्र पहिलो र पाण्डे दोस्रो  प्रस्ताव गरिएको छ ।

विवेकशील साझाले विगतको चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न त्यही हुनेछ । नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन् । एकीकरणपछि दुवै पार्टीका ६५\६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । 

प्रतिक्रिया दिनुहोस