मिक्लाजुङ घटनाप्रति आयोगको ध्यानाकर्षण, अनुगमन सुरु

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १५ : ३५
मिक्लाजुङ घटनाप्रति आयोगको ध्यानाकर्षण, अनुगमन सुरु

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । 

आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ । व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ ।

आयोगका प्रवक्ता  डा. टीकाराम पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको जनाइएको छ । आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ । 

आप्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दछ । साथै, कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । 
           
           

प्रतिक्रिया दिनुहोस