लोकतन्त्रमा सानो ठूलो कोही हुन्न, सबै बराबरी : अध्यक्ष तिमिल्सिना

बुधबार, ३० फागुन २०७४, १६ : ११
लोकतन्त्रमा सानो ठूलो कोही हुन्न, सबै बराबरी : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य र मान्यतामा आधारित भएर आफूले काम गर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित भएपछि संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले लोकतन्त्रमा सानो ठूलो कोही पनि नहुने भएकाले सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “लोकतन्त्रमा सानो ठूलोले केही गर्दैन, प्रतिपक्ष भनेको प्रतिपक्ष नै हो, त्यसलाई सम्मान गर्नुपर्छ, उहाँहरु पनि बराबरी नै हो, संख्या कति छ भन्ने कुराले कुनै अर्थ राख्दैन ।”
एकलौटी तवरले अगाडि बढ्छ कि भनेर कोही कसैले चिन्ता नगर्न आग्रह गर्दै उहाँले लोकतन्त्र बचाउन र राष्ट्रियसभाको गरिमा बचाउँदै यसको मूल्य र मान्यताको रक्षाका लागि आफूहरुले भरपूर प्रयास गर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले संविधान निर्माणपछि पहिलो पटक राष्ट्रियसभाको गठन भएको भन्दै आफूहरुको ध्यान कानून निर्माणमा रहने छ भन्नुभयो ।
बहुदलीय व्यवस्थाको स्थापनापछि नै संसद् दुई सदनात्मक भए पनि हाल त्यो पुरानो भयो कि वा विस्मृतिमा गयो कि भन्ने लाग्न सक्ने भए पनि माथिल्लो सदनको गरिमालाई जोगाएर राष्ट्रियसभाले काम गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले नयाँ संविधानले दुई सदनात्मक व्यवस्था बनाएका कारण राष्ट्रियसभा पनि संघीय संसद्को एउटा हिस्साको रुपमा रहेको उल्लेख गर्दै यस सदनलाई भरपूर तवरले साझा बनाउने प्रयास आफ्नो रहने छ भन्नुभयो ।
राष्ट्रियसभालाई सार्थक परिणाममा पु¥याउनका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताउँदै उहाँले त्रुटि र कमजोरीरहित तवरले विधि निर्माण गरेर जानु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “सरकारलाई घच्घच्याउने र सहयोग गर्ने आफ्नो कार्यभार हुन जान्छ, हामीले धेरै कानून निर्माण गर्नु जरुरी छ, ती कानून निर्माणका लागि काम गर्नु जरुरी छ, त्यसमा हाम्रो पहिलो ध्यान जान्छ ।”
सबैले सकारात्मक सोच्ने र सोहीअनुसारको व्यवहार गरेर सफलता हात पार्न सकिन्छ, उहाँले भन्नुभयो— “हामी सबैले सकारात्मक सोचौँ, हरेक विषयलाई नकारात्मक तवरले मात्रै हेरियो भने त्यसले राम्रो गर्दैन, शंका र आशंकाले होइन, सकारात्मक सोचका साथ काम गरौँ, सफल भइन्छ ।”
वाम गठबन्धनका साझा उम्मेदवार तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को साझा उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तो छ नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाको राजनीतिक इतिहास
पर्वतको मोदी गाउँपालिका स्थायी बासिन्दा तिमिल्सिना एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ४ का सहसंयोजक हुनुहुन्छ । यही फागुन २८ गते राष्ट्रियसभाको अध्यक्षका लागि उहाँको मात्रै उम्मेदवारी परेको थियो ।

राष्ट्रियसभाको आजको बैठकले उहाँलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले तिमिल्सिना अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो । तिमिल्सिनाको प्रस्तावकमा एमालेकै खिमलाल भट्टराई र समर्थकमा नेकपा (माओवादी केन्द्र) का दिनानाथ शर्मा तथा एमालेकै सुमनराज प्याकुरेल हुनुहुन्छ ।
राष्ट्रियसभाका अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका गणेशप्रसाद तिमिल्सिना पर्वतको मोदी गाउँपालिकाका बासिन्दा हुनुहुन्छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रवीणता तहमा अध्ययन गर्दै गर्दा विसं २०३६ मा विद्यार्थी राजनीतिमा होमिनुभएका तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ मा विसं २०१८ जेठ १२ गते जन्मिनुभएको हो ।
गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको तिमिल्सिना विद्यार्थी जीवनदैखि नै प्रगतिवादी सोचका साथ विसं २०३६ मा नेकपा (माले)को रेडगार्डको सचिवसमेत हुनुभएको थियो । विसं २०३७ मा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित तिमिल्सिनाले विसं २०४० मा तत्कालीन मालेको सदस्यता प्राप्त गर्नुभएको थियो ।
पार्टी राजनीतिको शुरुवातसँगै सक्रिय राजनीतिमा आउनुभएका तिमिल्सिना विसं २०४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र विसं २०४२ मा अनेरास्ववियुको आठौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य हुनुभयो । तत्कालीन सरकारविरुद्ध विद्रोहको उद्घोष गर्दै विसं २०४२ को बम काण्डपछि तिमिल्सिनाले चार वर्ष जेल जीवन बिताउनुभयो । तत्कालीन सरकारले विसं २०४२ देखि ०४६ सम्म लगातार चार वर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।
उहाँसँगै जेलमा कम्युनिष्ट नेता केपी शर्मा ओली र हितकाजी गुरुङ रहनुभएको थियो । ओली अहिले देशको प्रधानमन्त्री र एमाले अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । विसं २०४६ मा जेलबाट छुटेका उहाँ प्रजातन्त्र बहालीको आन्दोलनमा पुनःसक्रिय रहनुभयो । विसं २०४६ को जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उहाँ पुनःपञ्चको निशानामा पर्नुभयो । उहाँलाई तत्कालीन सरकारले पक्राउ गरी ल्याउन टाउकाको मूल्य रु ५० हजार तोकेको थियो ।
अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी उहाँ विसं २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो । दोस्रो बैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बन्नुभएका तिमिल्सिना केन्द्रीय सदस्य हुँदा प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष हुनुहुन्थ्यो ।
विसं २०४७ मा माले मुस्ताङका सचिव, ०४८ मा नेकपा (एमाले) बागलुङका सचिव, विसं २०५४ मा नेपालगञ्जमा सम्पन्न एमालेको छैटाँै महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरि अञ्चल इञ्चार्जको जिम्मेवारीसमेत उहाँले सम्हालिसक्नुभएको छ ।
विसं २०५९ मा जनकपुरमा सम्पन्न एमालेको सातौँ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र विसं २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका तिमिल्सिना पर्वत जिल्ला संयोजकका रुपमा पार्टीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पर्वत जिल्लाको पूर्वजिविस सभापति पनि भइसक्नुभएको छ । काठमाडौँमा भएको नवौँ महाधिवेशनपछि पुनःकेन्द्रीय सदस्य हुँदै अहिले उहाँ एमालेको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस